प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।
उनले रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लक डाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गरेको छ ।
साथै ठूला व्यवसायीका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन उनले सरकारसमक्ष अपिल गरेको छ ।
सभापति देउवाले साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेको उल्लेख गर्दै सबैखाले सञ्चारमाध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले आज एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको बताएको छ ।
सभापति देउवाले दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पु¥याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेको छ ।
उनले न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लक डाउन घोषणा गर्नु स्वाभाविक भएको र छिटपुट घटनाबाहेक यसलाई अधिकतम पालना गरेकामा उहाँले सबैलाई धन्यवाद दिएको छ ।
ठूलो जोखिमबाट जोगिन वर्तमान कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लक डाउनलाई इमानदारीसाथ पालना गर्न सभापति देउवाले सबैलाई अनुरोध गरेको छ ।




















प्रतिक्रिया