Logo

राजनीति

‘नेपालमा लकडाउन खुकुलो हुनसक्छ’



प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गरेका छन्। दुई अध्यक्षले प्रदेश-प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरिरहेका छन् ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले तत्काल भारतसँगको नाका खुल्ने सम्भावना नरहेको बताए । ‘भारतसँगको नाका खुल्ने कुरै छैन। देशभित्र लकडाउन खुकुलो हुनसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद पालले भनिन्।

केही सांसदहरूले अध्यादेश मन्त्रिपरिषदले पास गरेको केहीबेरमै राष्ट्रपतिले किन हस्ताक्षर गर्नुभयो ? भनेर प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सरकारले पठाएपछि तुरून्त र ढिलाको कुरै नहुने बताए।

अर्का सांसद दीपकप्रकाश भट्टले ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले कसैलाई बलियो र कसैलाई कमजोर बनाउने हिसाबले अध्यादेश नल्याएको बताए। ‘हामी मन मिल्दा एक हुने र मन नमिल्दा फुटने होइनौं, बरू हामीले कसैले नसोचेको दुई अध्यक्ष हुने प्रणाली विकास गरेका छौं,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै भट्टले भने।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका कारण गर्नुपर्ने धेरै नियुक्ति रोकिएकाले अहिलेको अवस्था आएको बताए। ‘प्रतिपक्षी दलले जेमा पनि भाग खोज्न थाल्यो। सरकारले गर्नुपर्ने धेरै काम छन्, जुन हामीले गर्न सकेका छैनौं,’ ब्रिफिङमा प्रधानमन्त्री ओलीले भने,‘जेमा पनि भाग खोज्ने र नियुक्ति हुन नदिने भएपछि अध्यादेश ल्याउनु परेको हो।’

सांसद भीम रावलले आफूले समय पाए केही सैद्धान्तिक र नीतिगत कुरा गर्न खोजेको बताएका थिए। तर प्रधानमन्त्री ओलीले उनलाई अहिले त्यस्तो कुरा गर्ने समय नभएको भनेर टारिदिए। सांसदहरूले महाकालीपारि भारतीय भूमिमा रहेका नेपालीहरूलाई घर फर्काउनेबारे पनि कुरा राखेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सरकारले त्यसबारे पनि सोचिरहेको बताए। प्रधानमन्त्री ओलीले कोरोनाभाइरसविरूद्धको लडाइँमा सांसदहरूलाई पनि केही भूमिका दिने बताएका थिए।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १४:१४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।