पार्टी अन्तरविरोध चर्किंदै गएका बेला सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षबीच केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सहमति भएको छ । प्रचण्ड–नेवालबीच दूरी बढाएर सत्ता टिकाइराख्ने ओली रणनीति करिब असफल भएको छ ।
ओलीले केही दिनयता आफैं र निकटस्थहरुमार्फत नेता नेपालसँग सम्वाद बढाएका थिए । उनले ‘प्रचण्डको गोटी’ नबन्न भन्दै पूर्वएमाले समूह एक भएर पार्टी र सरकारमाथि आइपरेको संकट समाधान गर्न ओलीले नेपालसँग आग्रह गरेका थिए । आवश्यक परे मन्त्रीहरु हेरफेर गरी ‘पावर सेयरिङ’ गर्नसमेत तयार रहेको प्रस्ताव ओलीको थियो ।
तर, नेपाल पक्ष सत्ता साझेदारीभन्दा पनि पार्टी र सरकारका निर्णय संस्थागत हुनुपर्ने विषय प्रमुख रहेको भन्दै स्थायी समिति बैठक राखेर गम्भीर समीक्षा गनुपपर्ने पूर्वअडानबाट टसमस भएको छैन । स्थायी समितिका २० सदस्यले दुई अध्यक्ष ओली र प्रचण्डलाई लिखित पत्र बुझाउँदै तत्काल स्थायी समिति बैठक डाक्न दबाब दिएका छन् । ओली स्थायी समिति बैठक टारेर सत्ता लम्ब्याउने खेलमा छन् ।
तर, प्रचण्ड–नेपाल पक्ष जसरी भए पनि स्थायी समिति बैठक डाक्नुपर्ने अडानमा छन् । बैठकबाटै ओलीलाई सरकारबाट फिर्ता बोलाउनेबारे निर्णय गर्ने तयारी प्रचण्ड–नेपालको छ । ती दुई समूहले ओली अब नसच्चिन साझा निस्कर्ष निकालेका छन् ।
बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने पार्टी निर्णयको धज्जी उडाउनदेखि गोकुल बाँस्कोटा प्रकरण, औषधि खरिद प्रकरण र पछिल्लो अध्यादेश प्रकरणका कारण पार्टी र सरकार दुवै बदनाम भएकाले अब ओलीको विकल्प खोज्न ढिला नहुने निस्कर्षमा पुगिएको नेपालनिकट एक नेताले बताए ।
‘इतिहासमा प्रधानमन्त्रीका रुपमा ओलीलाई जत्ति अवसर कसैलाई थिएन’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘तर अवसरको सदुपयोग गरी मुलुकको हितमा काम गर्नुभन्दा स्वार्थ समूहका सानोे घेरामा बसेर आफूविरोधीलाई साइजमा ल्याउने बाहेका काम गर्नुभएन, एकपछि अर्को काण्डैकाण्डले सरकार र पार्टी बदनाम भएको छ ।’
प्रचण्ड र नेपाल खेमालाई पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता झनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको पनि साथ छ । आफूविरोधी कित्ता सशक्त बन्दै गएपछि ओलीले संसदीय दलमा बहुमत पुर्याउने खेल सुरु गरेका छन् । त्यसका लागि अरु समूहमा रहेका सांसदलाई आफूतिर तान्ने प्रयासमा ओली छन् ।
नेकपाको आज बस्ने भनिएको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
















प्रतिक्रिया