Logo

मधेश प्रदेश

मातृका यादवको एके–४७ चोर्ने चोर पक्राउ



पूर्वमन्त्री एवं नेकपा नेता मातृका यादवको साथबाट अत्याधुनिक एके–४७ र एसएमजी हतियार चोरेर भागेका सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–१४ का कृष भनिने ३६ वर्षीय कृष्णकुमार यादव पक्राउ परेका छन् ।

आपराधिक गतिविधिमा संलग्न यादवलाई प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट हातहतियार र लागुऔषधसहित पक्राउ गरेको हो । यादवको साथबाट बीआर ५० पी १२४१ नम्बरको भारतीय गाडीसहित कटुवा पेस्तोल, तीन राउण्ड गोलीसहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।

शर्माका अनुसार उनको साथबाट २५ बोतल लागुऔषध डाइलेक्स डिसी, ५७६ क्याप्सुल स्पास्मो प्रोक्सिभोन प्लस, १६० ट्याब्लेट नाइट्रोसन र ७५ ट्याब्लेट नाइट्राभेटसमेत बरामद भएको छ ।

यसैबीच उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले यादवलाई रिहा गर्न माग गरेको छ । सो पार्टीका सप्तरी अध्यक्ष केदारप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा लकडाउनका समयमा राहत वितरणमा हिंडेका बेला षड्यन्त्रपूर्वक यादवलाई पक्राउ गरिएको र उनको साथबाट प्रहरीले दाबी गरेजस्तो हतियार र लागुऔषध बरामद नभएको दाबी गरिएको छ । यादव आफ्नो पार्टीको हनुमानगर कंकालिनी नगरपालिकाका पूर्वकोषाध्यक्ष रहेको विज्ञप्तिमा छ ।

उनी स्थानीय तह निर्वाचनअघि संघारमा ०७४ जेठमा हनुमाननगरमा आयोजित एक कार्यक्रमबीच तत्कालीन संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका लगाएर सो पार्टी प्रवेश गरेका थिए ।

यसैबीच प्रहरीले यादवविरुद्ध हातहतियार तथा खरखजाना ऐन र लागू औषध नियन्त्रण ऐन– २०३३ अनुसार कारबाही अघि बढाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार ०८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।