Logo

मधेश प्रदेश

लिभिङ विथ ईन्भायरमेन्टको भ्रष्ट्राचार काण्ड, बुझ्न फोन गर्दा ज्यान मार्ने धम्की



विभिन्न क्षेत्रका संघ संस्था तथा व्यक्तिहरुसँग रकम उठाएर कार्यक्रम गर्दै आईरहेको लिभिङ विथ ईन्भायरमेन्टले हरेक कार्यक्रमहरुमा अनियमितता गरेको समाचार बाहिरिएको छ । त्यो संस्थाले गरेको बिरगंज लाईभको सिजन ३ लाई लिएर बिवाद भएपछि यो कुरो बाहिरिएको हो ।

यस संस्थाले संघ संस्था, व्यवसायी, विद्यार्थी, अभिभावक तथा विद्यालय र कलेजहरुबाट रकम उठाएर कार्यक्रम गर्दै आएको बताईन्छ । प्रस्तावना बनाउँदा भब्य र प्रभावकारी कार्यक्रम बनाउँने भनिएता पनि गुणस्तहीन कार्यक्रम गरेर ठग्ने गरेको संस्थाका पूर्व सदस्यले नै आरोप लगाएका छन् । “हरेक पटक कार्यक्रमको डिजाईन् अनुसार गुणस्तर नभएको भनेर आलोचना हुँदा पनि कार्यक्रम सुधारमा ध्यान दिन छोडेर यसको नेतृत्व कसरी लुट्ने र कमाउँने भन्नेमा मात्र केन्द्रीत भयो । जसले गर्दा संस्थाकै बदनाम भयो” – ती पूर्व सदस्यले अनलाइनपानालाई बताए ।

करीब ८ महिना अगाडि आयोजना गरिएको बिरगंज लाईभ सिजन ३ को प्रचार प्रसार गर्ने माध्यमको रुपमा फेसबुक पेजबाट प्रचार गरी २० जना व्यक्तिहरुलाई पारिश्रमिक दिने शर्तमा स्वयम्सेवक नियुक्त गरिएको भएतापनि कार्यक्रम सम्पन्न भएर यत्रो समय बितिसक्दा पनि कसैलाई पनि पारिश्रमिक नदिई श्रम शोषण गरेको पीडित स्वयम सेवकहरुले आरोप लगाएका छन् ।

यस संस्थाको समूहमै रहेर काम गरेका पूर्व सदस्यका अनुसार संस्थाका अध्यक्ष आकाश चौहानले दुई प्रकारका प्रस्तावना बनाई संघ संस्था, व्यवसायिक प्रतिष्ठान र धनाड्य व्यक्तिहरु समेतलाई दिने गरेका छन् । उनले देखाउँने प्रस्तावनामा २ लाख उल्लेख हुन्थ्यो भने ८ लाख पास गरेर झ्वाम पार्ने गरेका छन् । यस संस्थाले गत वर्ष पनि बिरगंज लाईभ १ र २ सिजन समापन गरेको थियो भने ती दुवै कार्यक्रमको पनि गुणस्तरमा प्रश्न उठाईएको थियो ।

यस्ता आरोपहरुको बारेमा बुझ्न खोज्दा लिभिङ विथ ईन्भायरमेन्टका अध्यक्ष आकाश चौहानले टिकट बेचे बापत दश प्रतिशत स्वयम सेवकलाई दिने भनिएको तर उनीहरुले नै टिकट बेच्न नसकेकोले रकम दिन नसकिएको स्विकार गरे । अरु जिज्ञाशाको जवाफमा उनले कार्यक्रम भएको यत्रो समयपछि आएर यो कुरा उठाउँनु गलत भएको बताए ।

अध्यक्षका बाबुले दिए ज्यान मार्ने धम्की

अनलाइनपानालाई यो समाचारको श्रोत प्राप्त भएपछि लिभिङ विथ ईन्भायरमेन्टका अध्यक्ष आकाश चौहानसँग जिज्ञासा राखी समाचार तयार गरिदै थियो । त्यही समयमा ९८५५०२२५४६ नम्बरबाट फोन आयो । आफू आकाश चौहानको बाबु दिपेन्द्र चौहान भएको र आफू पत्रकार महासंघको पूर्व अध्यक्ष समेत भएकोले पत्रकारिता नसिकाउँन उनले चेतावनी दिए । आफ्नो छोराको बारेमा समाचार नलेख्न चेतावनी दिदै चौहानले मेरो बारेमा बुझेर आफ्नो बारेमा सोच्नु भन्दै धम्की दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १९:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।