नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सवैभन्दाबढी लाभान्वित हुनेमा पर्छन् उपसभापति बिमलेन्द्र निधि फुटेदेखि जुटेसम्म नै । जानकारहरु अनुसार पार्टी होस् कि सरकार जतातिर भएपनि निधि महत्वपूर्ण पात्र रहे देउवालाई सघाउने र सत्ताको उपभोग गर्नेमा पनि । त्यसैकारण सत्ता देउवाले चलाएपनि त्यसको उपभोग चाहिँ निधिबाट भैरहेको जस्तो थियो यस अघि । यी दुई व्यक्तित्वको राजनीतिक सम्वन्धको एउटा जानकारी पनि हो ।
त्यसका लागि निधिले पनि त्याग नगरेका चाहिँ होइनन् । यिनै निधि उनै देउवा विरुद्ध सभापतिमा नै उम्मेदवार दिने निर्णय गरेर नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनको एउटा उदाहरणीय पात्र बन्ने क्रममा प्रकट हुँदैछन् । यो पात्र यो महाधिवेशन र यसको परम्परागत नेतृत्व नै फरक ढंगले स्थापित हुने क्रममा पुग्ने देखिन्छ ।
यो पनि त्यस्तो बेलामा जो आफ्नो पहिलो कार्यकालमा आफूले सम्पादन गरेका कामको मैदानमै मूल्यांकन होस् भनी वर्तमान सभापतिले थप एउटा कार्यकालको परीक्षण गर्न खोजिरहेका अवस्थामा । त्यसकारण यो उम्मेदवारी देउवाका लागि, निधिका लागि र नेपाली कांग्रेसकै लागि यसको अर्थ खोजिन थालिएको हुनुपर्छ । त्यसो किनपनि भने यो महाधिवेशनमा यस्तो उम्मेदवारी कायमै रह्यो भने त्यसले प्रतिश्पर्धाको एउटा नयाँयुग प्रारम्भ गर्छ र परिणाम नोपाली कांग्रेसका लागि सकारात्म नै हुन्छ जीत हार जसको भएपनि ।
निधिको जस्तो भनाई आइरहेको छ त्यसको पनि अर्थरहन्छ नै । उनले आफ्ना सभापतिमात्र होइन वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला लगायतसँग भेटेर आफू सभापतिको तयारीमा रहेको जानकारी गराइसेका छन् । उनले पार्टीलाई एकढिक्का बनाउन महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव छ उनको । ‘महाधिवेशन केवल नेतृत्व परिवर्तन मात्र होइन, यसले पार्टीको स्पष्ट राजनीतिक एजेन्डा तय गर्न सक्नुपर्छ, कांग्रेसलाई आमनिर्वाचनमा जिताउने वातावरण र हैसियत बनाउन महाधिवेशन गर्ने हो । मेरो प्राथमिकता यही हो ।’
यो ठाउँमा सभापति देउवाले पनि ठूलोपार्टी बनाउने भनी आफूले दोहोर्याउन खोजेको भनिरहेका छन् । तर त्यसलाई उनैले मनोनित गरका उपसभापतिले नै पत्याउन नसकेको अवस्था हुनुपर्छ यो । त्यसैपनि पार्टीगत कुरा गरिँदा देउवाको नेतृत्व नेपाली कांग्रेसका लागि फलदायी भएन कि भन्नेको सख्या ठूलो पाइन्छ खासगरी कांग्रेसका शुभचिन्तकका बीचमा । यही क्रममा उनको दोस्रो कार्यकालको कुरा आएको छ । यो उम्मेदवारीलाई यो पक्षबाट पनि हेरिनुपर्ने हुन्छ । यतिबेला चलिरहेकै कार्यकालका कतिपय विवरणहरु बढी चर्चामा रहेका अवस्थामा अर्को कार्यकालका दृश्यहरु त्यति सकारात्मक नहुन सक्तछन ।
दोस्रो, नेतृत्वले बचनको पालना गर्नुपर्छ र तेस्रो, वास्तवमा नै युवाको चरित्र अनुसार परिस्थितिले मागेका खण्डमा आफ्ना लागि जतिसुकै अनुकुल भएपनि यदि त्यसले संस्थगत नोक्सानी बढी हुन्छ भने जतिसुकै अपृय भएपनि हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ वा त्यसकालागि तयार रहनुपर्छ भन्ने यो एउटा सन्देश पनि हो । त्यसो किन पनि भने अरुले जे भने पनि देउवा र निधिका लागि एकअर्का बीचमा नै प्रतिश्पर्धा हुने यी उम्मेदवारी दुबैका लागि पृय हुँदैनन् ।
निधिको उम्मेदवारीले उनलाई सोचेजस्तो परिणाम दिएन भनेपनि उनको एक प्रकारले जीत नै हुन्छ वास्तवमानै नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने सन्दर्भमा र त्यसका लागि त्यो समूहमा आफैले मानेका र आफूले नै सुविधा पाइरहेका ठाउँबाट परिवर्तन खोज्न सक्नुपर्छ भन्ने । त्यसकारण निधिको यो उम्मेदवारीको एउटा अर्थ यसरी पनि लगाउन थालिएको हुनुपर्छ । तर देउवाका लागि त्यो भन्दा भिन्न नै परिस्थिति आउछ यदि महाधिवेशनमा हार भयो भने ।
निधि आफैले पनि यो महाधिवेशनमा पीढिगत राजनीतिको वकालत गरेका छन् यो ठाउँमा । जस्तो अघिललो अंंकमा रिपोर्ट भयो –देउवा र निधिबीचको सम्वादमा निधिलाई देउवाले ‘१५औं महाधिवेशनमा हाम्रो समूहबाट तपाईं निर्विकल्प सभापतिको उम्मेदवार बन्न’ भनी गरेको आग्रह र त्यसमा निधिले–१५औं महाधिवेशनसम्म अर्को पुस्ता सभापतिका लागि तयार भइसक्ने र आफूलाई उमेरले पनि साथ नदिने भनेर दिएको जवाफ । त्यसमा उनले १४औं महाधिवेशन नै आफ्ना लागि सभापतिको उम्मेदवार बन्ने सबैभन्दा उपयुक्त समय रहेको’ भन्ने निधिको निश्कर्षको पनि एउटा अर्थ हुन्छ नै ।
देउवाको दोस्रो कार्यकालका लागि उम्मेदवारी भयो भने त्यो कस्तो होला भन्ने सन्दर्भपनि यो ठाउँमा उठ्न खोजेको देखिन्छ । निधि आफैले ठाउँठाउँमा भन्दै आएका छन् अव देउवाको पुस्ताले अभिभावकत्व ग्रहण गरोस । निधिको दावी छ सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पछिको पुस्तामा सहमति हुन सक्तछ ।
यसको अर्थ हो देउवाको यो कार्यकाल नेपाली कांग्रेसका लागि फेरी दोहोरिने खालको रहेन । आफूले उम्मेदवार दिने कुरा बहालवाला सभापतिले छाडेमा अर्को पुस्तामा सहमति बन्ने भन्नेले बुझाउने अर्थ त्यही हो । यो ठाउँमा पौडेलले त धेरैपटक सभापतिले छाडे आफूले पनि छाड्ने भनी वताइसकेका हुँदा यसको आसय देउवा तिरनै केन्द्रीत भएको प्रष्ट छ ।
आउदो चौधौं महाधिवेशनमा सभापतिका उम्ममेदवार भनी आजका मितिसम्म प्रकट भएका मध्येमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठ, महामन्त्री डा. शशांक कोइराला, पूूर्व महामन्त्री तथा नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी र गगनकुमार थापा आदि छन् ।
यी मध्ये निधि –श्रेष्ठ देउवाका दाहिने हात हुन भने देउवालाई नेतृत्व दिलाउन महत्वपूर्ण भूमिका रहेकामा केसी, सिटौला र थापासमेतको ठूलो योगदान थियो त्यसबेला । यो महाधिवेशनमा देउवासंग पहिले त्यस्ता सहयोग गर्ने मध्येबाट तीन जना र आफ्नै घरभित्रबाट दुइजना गरी उनी सहति छ जनाको उमेदवारी पर्ने भयो । यसको अर्थ हो देउवाले आफ्नो कार्यकालबाट आफ्ना समर्थकलाई त जोगाइराख्न सकेनन् नै आफनै घर भित्रकालाई पनि चित्त बुझाउन सकेनन् ।
यी मध्येका एकजना विमलेन्द्रको उम्मेदवारी चर्चा सुरु भएसंगै केहीदिन अघिसम्म आफ्नो समूहमा अकण्टक एक्लो उम्मेदवार मानिएका देउवा पछिल्लो परिस्थिति यथावत रहेमा उम्मेदवार हुन्छन् कि हुँदैनन् भन्ने ठाउँमा आइपुगे । त्यतिले मात्रै भएन । अव त उनकी पत्नीलाई महामन्त्रीका लागि पहल गर्ने वा गरेका समाचार आउन थाले । स्वाभाविक छ महाधिवेशन अन्यथा हुनेगरी प्रभावित नहुने हो भने वहालवाला पदाधिकारीलाई नेतृत्व प्राप्तगर्न अरुलाईभन्दा सजिलो हुन्छ । तर यो ठाउँमा आफूलाई छाडेर पत्नीको नेतृत्व स्थापित गर्ने कुरा आउन थालेको छ । त्यसमापनि निधिको चर्चा आयो ।
एउटा टिप्पणी –‘संस्थापन पक्षबाट विमलेन्द्र निधिले पनि उम्मेदवारी दिए भने देउवा आफैं अघि नबढेर शशांकलाई साथ दिन सक्ने अड्कलबाजी पनि यतिबेला चर्चामा छ । निधि साँच्चै उम्मेदवार बन्ने भए र देउवा पछि हटे भने अहिले कायम रहेका गुटको समीकरण भत्किन सक्छ र नयाँ खालका समीकरण बन्न सक्छ । त्यस्तो बेला देउवाको रोजाइमा शशांक नै पर्न सक्ने देउवानिकट सदस्यहरू बताउँछन् ।
निधि साँच्चै उम्मेदवार बन्ने भए र देउवा पछि हटे भने अहिले कायम रहेका गुटको समीकरण भत्किन सक्छ र नयाँ खालका समीकरण बन्न सक्छ । त्यस्तो बेला देउवाको रोजाइमा शशांक नै पर्न सक्ने देउवानिकट सदस्यहरू बताउँछन। शशांकलाई अघि बढाउँदा कांग्रेसको मूल धार जोडिने र जित्न पनि सहज हुने बुझाइ देउवामा छ । ‘निधिलाई अघि बढाउने सम्भावना म देख्दिनँ ।
उहाँलाई साथ दिए पनि जितिन्छ भन्ने ग्यारेन्टी छैन तर शशांकलाई साथ दिए जितिन्छ भन्ने विश्लेषण भित्रभित्रै छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘आफूले छाड्नु नै पर्ने भए शशांक वा समकालीन नेताको हिसाबले रामचन्द्र पौडेललाई साथ दिने गरी अघि बढ्ने सम्भावना पनि नकार्न सकिन्न ।’ तर देउवा आफूले छाड्नुपर्दा पत्नी आरजुलाई महामन्त्रीमा ल्याउन चाहन्छन् । त्यतिबेला पौडेलको तुलनामा शशांक नै बढी सहज हुने बुझाइ उनमा छ ।’
यी विवरणका अनुासर निधिले उम्मेदवारी दावी गरेपछि र एकपटक दोहोर्याउन दिन भनी माग गर्दा पनि समय खस्किसकेको भन्ने निश्कर्ष सुनाइसकेपछि सभापति र उपसभापति बीच राजनीतिक प्रतिश्पर्धा हुने भयो भन्ने बुझनु पर्छ नै । यसको अर्थ हो देउवासंगको एउटा समूह पुरै अलग भयो । अव उनीसँग उपसभापति रहेनन् । उनलाइ पहिलो कार्यकालमा निर्वाचन जिताएर साथ दिएको भनिएको तेस्रो समूह पहिले नै उनीबाट अलग भैसकेको थियो ।
तेह्रो महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार यतिबेला देउवासँगै सभापतिकै उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । अर्को खेमाबाट निर्वाचित बहालवाला महामन्त्री माथि वितेको लामो समयसम्म आरोप थियो – उनले देउवाका हरेक कुराको अन्धाधुन्द समर्थन गर्दै आए भन्ने । पछिल्लो समय तिनै महामन्त्री शशांक कोइरालाले अवका दिनमा देउवा विरुद्ध आफूमात्रै शसंक्त उम्मेदवार भनी सार्वजनिक घोषणा नै गरेका छन् । कस्तो रह्यो त यी महामन्त्रीको अनुभवमा सभापति देउवाको यो कार्यकाल ? (क्रमशः) –सुवेदीको प्रस्तुती
याे पनि…
विमलेन्द्र निधिको उम्मेदवारीले कांग्रेसमा क्रमभंगता
देउवाले निधिलाई चौधौं महाधिवेशनबाट आफ्नो समूहको निर्विकल्प सभापति देलान ?




















प्रतिक्रिया