Logo

प्रमुख समाचार

संविधान त्रुटिपूर्ण, वर्तमान सरकार असफल : डा. बाबुराम भट्टराई



नयाँशक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा जारी भएको संविधान २०७२ ‘आधा गिलास खाली र आधा गिलास भरेको’ रहेको टिप्पणी गरेका छन्।

जनकपुरमा नयाँशक्ति पार्टीको ‘देशक विद्यमान राजनीति आ संविधान संसोधनक सबाल’ विषयक अन्तरक्रियामा बोल्दै डा. भट्टराईले नागरिकको अधिकारलाई प्रत्याभुति गराउन नसकेका यो संविधान संसोधन गर्नु अति आवश्यक रहेको बताए। त्यसैले यो संविधान ‘आधा खाली र आधा भरेको गिलास’ झैं रहेको उनको भनाई छ।

उनले भने, “मधेशी, दलित, थारु, जनजाती, मुस्लिम तथा महिलाको मुद्दामा अपनत्व देखाउन नसकेको दुई तिहाईको सरकारले आफु मजदुर र किसानको पक्षमा रहेको दावी गर्नु भ्रम मात्र फैलाई रहेको छ। देशमा भ्रष्टाचार रोक्न नसकेको दुई तिहाईको वर्तमान सरकारले घोषणा गरेका आफ्नै कतिपय कार्यहरु गर्न सकेको छैन भने अरु विकासको त कुरा नै गर्न सकिन्‍न।”

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अहिलेको संविधान अपूर्ण तथा अपांग रहेको र यसलाई सपांग भन्न नसकिने बताउँदै हरेक वर्ग, क्षेत्र, लिंग, जातिय समुदाय लगायतकाको पहिचान र अधिकारका निम्ति जनताले संर्घष जारी राख्नु पर्ने बताए।

लोकतान्त्रिक चेतना फैलाउन तराईमधेशका जनताले २००७ साल देखी नै अग्रणी भुमिका खेल्दै आएको बताउँदै डा. भट्टराईले चेतनाको अगुवाई गर्ने मधेशीलाई मधेशको मात्र सोचेर भई पुरा देशको बारेमा सोच्नु पर्ने आवश्यक्ता रहेको उल्लेख गरेका छन् ।

“हामी मानवीय पहिचानका प्राणी छौं र हामीले मानवीयता देखाउनु पर्छ । देशमा चेतना ल्याउने अगुवाको नाताले पनि तराईका जनताले मधेशीले सबैको बारे सोच्नु पर्ने आवश्यक्ता छ । मात्र मधेशी नभई मुस्लिम, थारु, जनजाती, दलित सबै पीडित छन् । उनीहरुको हकको लागी संर्घष गनु पर्छ । ”

अर्को एक प्रसंगमा भट्टराईले भने, ‘प्रचण्डको नेतृत्व ठुलो फोहोरको समुद्रमा मिसियो, उनले यो देशलाई बर्वाद हुनबाट बचाउन सकेनन् ।’ उनले तत्कालीन एमालेतर्फ ईंगित गर्दै त्यो पार्टीलाई फोहोरी समुद्रको संज्ञा समेत दिए ।

“वर्तमान सरकारले संघीयता नचाहेको तर देशमा संघीयता आईसकेपनि संघ नियन्त्रण गर्ने काम केन्द्रले गर्दै आएको छ । जिल्लाको प्रमुख अधिकारीलाई ‘सिडियो’ लाई प्रदेश सरकार भन्दा बढी ‘पावर छ’ यस्तोमा प्रदेशलाई दिईएको अधिकारले अर्थ राख्दैन ।”

यस्तै, प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको आरोप लगाएका छन् । देशको सम्पूर्ण पक्षका नागरिक आन्दोलनमा रहेको बताउँदै मन्त्री सोनलले नागरिक र राज्यको सम्बन्धले वर्तमान राजनीतिको मार्ग निर्धारण गर्छ तर यो सरकार जनताको पक्षमा नरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ०५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।