Logo

प्रमुख समाचार

‘देउवालाई देउवा बनाउने बीपी र गिरिजाबाबु हो’ : डा शशांक कोइराला



नेपाली काँग्रेसभित्रको आन्तरिक कलह चरम उत्कर्षमा पुगेको छ । यो उत्कर्षले अबका दिनमा कुन रुप लिने हो भन्ने टुंगो छैन । गुट उपगुट मजबुद हुँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री डा शशांक कोइरालाबीचको तिक्तता पनि बढ्दै गइरहेको छ । देउवाले कोइराला परिवारबाटै आफूले काम गर्न नपाएको आरोप लगाएका छन् ।

सोही आरोपलाई खण्डन गर्दै डा शशांकले भने, ‘देउवालाई देउवा बनाउने बीपी र गिरिजाबाबुले हो । अहिले आएर काम नगर्ने अनि हामीहरुलाई दोष लगाउने ?’आफूले काम गर्न नसकेको दोष अरुलाई दिन नहुने भन्दै डा कोइरालाले आफू पार्टीको सेकेन्ड म्यान भएको र देउवाले आफै काम गर्न नसकेको आरोप लगाए ।

बीपी कोइराला पुत्र डा शशांकले आफू अबको सभापतिको दावेदार भएको भन्दै आफू अगाडि बढेपछि देउवामा छट्पटी भइरहेको हुन सक्ने आरोपसमेत लगाएका छन् । उनले भने, ‘सन्दाजु, गिरिजाबाबु, शुशील दा सबै कोइरालाले नै देउवालाई बनाएका हुन् । अहिले आएर कोइरालालाई नै गाली गर्ने ? पहिले आफ्नो हैसियत हेर्नुपर्यो नि ।’

देउवाले विभिन्न सार्वजनिक कार्यक्रममा कोइराला परिवार (डा शशांक कोइराला, डा शेखर कोइराला र सुजाता कोइराला) ले काम गर्न नदिएको बताउँदै आएका छन् । शशांकले पार्टी लिगेसीमा चल्न नहुने र आफू बिपीको छोरो भएकै नाताले पार्टीमा दावेदारी खोज्ने व्यक्ति नभएको पनि बताएका छन् । उनले भने, ‘कोइराला परिवारले अहिलेसम्म दिएको योगदानलाई चाहीं भुल्ने हो त ? अनि देउवाले चाहीं सबैभन्दा बढी योगदान काँग्रेसलाई दिएको ?’

महाधिवेशन नजिकिँदै गर्दा तिक्तता

काँग्रेसले २०७२ को फागुनमा १३ औं महाधिवेशन गरेको थियो । चार वर्षे कार्यकाल अनुसार २०७६ को फागुनमा १४ औं महाधिवेशन गर्नुपर्ने छ । तर देउवाले समयमै महाधिवेशन गर्ने लक्षण ल्याएका छैनन् । देउवा इतर पक्ष भने समयमै महाधिवेशन गराउनु पर्ने पक्षमा छ ।

महासमिति बैठकले पारित गरेको विधानलाई उल्टाएर देउवा पक्षले केन्द्रीय सदस्यहरु सीधै प्रतिनिधि हुन पाउने र आरक्षणमा एक पटकभन्दा बढी समय एउटै व्यक्तिलाई ल्याउन पाउने नियम लाद्न खोज्दैछ । केही दिनअघि बहुमत काँग्रेस जिल्ला सभापतिहरुले पनि यदि यो निर्णय नसच्याइए अर्ली महाधिवेशनको आब्हान गर्ने चेतावनीसमेत दिइसकेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।