Logo

टिप्पणी

पेलेर जाने कि सहमतिमा ?



तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको हिजो अर्थात् वैशाख ३ गते ठिक ११ महिना पूरा भएको छ ।गत जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिको अवसरमा पार्टी एकता घोषणा भएको थियो । यो एकतालाई आगामी वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पूर्णता दिनेगरी पछिल्लो समय छलफललाई तीव्रता दिइएको छ ।

तर, यसअघि सचिवालयले बनाएको विधि र मापदण्डभित्रै रहेर एकता प्रक्रिया टुंगो लगाउने कि आफूखुसी भन्ने विवादबीच शीर्ष नेताहरूमा कुनै सहमति जुट्न सकेको छैन ।अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहालको साथ लिएर विगतको मापदण्ड विपरीत एकता प्रक्रिया टुंगो लगाउने कसरतमा छन् भने वरिष्ठ नेता नेपालले मापदण्ड मिच्न नहुने अडान छाडेका छैनन् । सोमबार पनि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटारमा बोलाएर छलफल गरे ।

त्यहाँ उनले मापदण्डमा लचिलो भइदिन नेपाललाई आग्रह गरेको तर नेपालले मापदण्डभन्दा बाहिर जाने कुरामा आफू सहमत नहुने अडान राखेपछि नेता नेपाललाई पेलेरै जाने गरी एकताको तयारी भइरहेको बालुवाटर स्रोतले जनाएको छ ।

त्यसो त वरिष्ठ नेता नेपालसँग छलफल गर्नुअघि अध्यक्षद्वयले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई चन्द्रागिरि लिएर आवासीय छलफल गरेका थिए । त्यसअघि सचिवालयका सदस्य वामदेव गौतम, ईश्वर पोखरेललगायतसँग पनि अलग अलग छलफल गरेका थिए ।

जुन छलफलमा नेता गौतमले नेपालसँग छलफल नगरी र उहाँलाई पनि सहमतिमा नल्याई गरिने एकताको कुनै अर्थ नरहने बताएका थिए । तीन नेता मिले कुनै समस्या नआउने भन्दै उनले अरूलाई बोलाएर छलफल गर्नुको पनि तुक नभएको जवाफ दिएका थिए ।

विमारीका कारण करिब एक सातदेखि आराम गरिरहेका नेता नेपालसँग सोमबार बिहान र बेलुकी दुई समय छलफल भए पनि कुनै सहमति नजुटेको बताइन्छ । पार्टीलाई एकताबद्ध भएर मिलाएर लैजान अहिले सबै स्थिति सहज छ ।

पार्टीभित्रको शक्ति केन्द्रका हिसाबले नेकपामा मुख्य तीन नेता हुन् । हिजो तत्कालीन एमालेको नवौं महाधिवेशनमा चुनावबाट निर्वाचित भएर आएको शक्ति र दाहाल नेतृत्वको एमाओवादीबीच एकता भएर नेकपा भएको हो ।

एमालेमा निर्वाचन हुँदा ओली र नेपाल नेतृत्वका दुईवटा पोलबीच भएको हो । त्यो हिसाबले यी दुवै एउटा एउटा पोलका नेता हुन् भने दाहाल अर्को पोलका नेता हुन् । यो स्थितिमा कुनै दुई नेता मिलेर कुनै एकलाई सिध्याउँछौं भन्ने हो भने त्यसले पार्टीलाई विग्रह र विवादतिर लैजान्छ ।

यदि यस्तो गरियो भने यसको प्रभाव के हुन्छ ? भन्ने कुरा मूलतः नेतृत्वले ख्याल गर्नुपर्ने हुन्छ । हिजो एमालेमा हुँदा ७५ जिल्लामध्ये हिजो ३६ जिल्लाको नेतृत्व वरिष्ठ नेता नेपाल पक्षले जितेको थियो । तर, अहिलेको भागबन्डमा तत्कालीन एमालेको भागमा ५६ जिल्ला परेको छ ।

तर अध्यक्ष ओलीले तयार गरेर नेता नेपालले थाहा नपाई सुटुक्क दाहाललाई बुझाएको सूचीमा दुई जिल्ला अध्यक्ष मात्र नेपाल पक्षकालाई प्रस्ताव गरिएको छ । त्यो पनि दोलखामा भीम दाहाल सर्वसम्मत भएकाले काट्ने कुरै भएन, अर्का एकजना सिन्धुपाल्चोकमा झम्क नेपाल ।

यदि यसरी एकतालाई अघि बढाइयो भने कार्यकर्ताको यो ढंगको कत्लेआम भएको अवस्थामा नेताको हिसाबले पनि नेपालले टुलुटुलु हेरेर बस्लान् भन्ने आशाा गर्न सकिन्न । त्यो बेला समानान्तर कमिटी बनाउनुपर्ने उनको बाध्यता हुन्छ ।

त्यसपछि पार्टीभित्रैबाट नेताको र त्यसपछि सरकारको विरोध सुरु हुने कुरामा शंका छैन । अनि यसैमा अल्झिएर सारा दुनियाँ हाँस्ने र हँसाउने काम हुन्छ । भाँडभैलो सुरु हुन्छ । यसमा नेतृत्वले विवेक गुमाउनु हुँदैन ।

अहिले पनि सबै काम आखिर अध्यक्षद्वय ओली र दाहालकै नेतृत्वमा भइरहेकै छ । पार्टीलाई एकताबद्ध बनाएर लैजाँदा त्यसको जस लिने उहाँहरूले नै हो । त्यसैले पार्टी र मुलुकको हितका खातिर पनि ओली, दाहालले उदारता देखाउनैपर्छ ।

पेलेरै जाने हो भने उहाँहरूले सक्नुहुन्छ । पेलेर जाने संख्या उहाँहरूसँग छ । प्रदेशमा कमिटी निर्माण गर्दा पनि नेता नेपालको असन्तुष्टिका बाबजुद अध्यक्षद्वयले पेलेर गरेका हुन् । तर, आखिर त्यसको परिणाम अहिले देखिन थालिसकेको छ, बुधबारमा उल्लेख छ ।

यत्तिका समय भइसक्दा पनि प्रदेश कमिटी चलायमान हुन सकेका छैनन् । त्यो गल्ती फेरि नेतृत्वले दोहोर्याउनु हुँदैन । त्यो गल्ती दोहोर्याउनु भनेको देश, जनता र पार्टीलाई भड्खालोतिर लैजानुहुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।