Logo

टिप्पणी

किन सहन्छन् केपी गोकुलका गाली ?



०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा काभ्रेमा उम्मेदवार भएर पराजित हुनुको कारण केलाउनेहरूले गोकुलको ‘टर्रो बोली’लाई औँल्याएका थिए । चुनाव प्रचारको क्रममा कुनै मतदाताले आफ्नो गाउँमा खानेपानीको अभाव रहेको बताउँदै एक हजार मिटर पोलिथिन पाइप उपलब्ध गराइदिन आग्रह गर्दा ‘आफूसँग पाइपको फेक्ट्री नरहेको’ भन्ने जवाफ फर्काएको सन्दर्भ धेरैपछिसम्म पनि मानिसहरू चर्चा गर्ने गर्दथे ।

गत वर्ष मन्त्रिमण्डलमा प्रवेश पाउनुअघिसम्म गोकुल बाँस्कोटा राजनीतिमा चर्चायोग्य व्यक्ति बनिसकेका थिएनन् । नजिकबाट जान्नेबुझ्नेहरू गोकुलको स्वभावसँग परिचित थिए, देखेको कुरा बोल्ने, बोलीमा घिउ–तेलको मिश्रण नगर्ने र एकपटक धारणा बनाइसकेपछि बदलिन नखोज्ने–अड्डी नछोड्ने उनको प्रवृत्ति हो ।

०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा काभ्रेमा उम्मेदवार भएर पराजित हुनुको कारण केलाउनेहरूले गोकुलको ‘टर्रो बोली’लाई औँल्याएका थिए ।

चुनाव प्रचारको क्रममा कुनै मतदाताले आफ्नो गाउँमा खानेपानीको अभाव रहेको बताउँदै एक हजार मिटर पोलिथिन पाइप उपलब्ध गराइदिन आग्रह गर्दा ‘आफूसँग पाइपको फेक्ट्री नरहेको’ भन्ने जवाफ फर्काएको सन्दर्भ धेरैपछिसम्म पनि मानिसहरू चर्चा गर्ने गर्दथे । मतदातालाई रिझाउनुपर्ने समयमा समेत त्यसरी प्रस्तुत हुने गोकुल बाँस्कोटाले अरू बेला घुमाएर कुरा गर्ने ठान्न मिल्ने देखिँदैन ।

तात्कालिक परिस्थितिबाट प्रभावित भएर सीधा प्रतिक्रिया व्यक्त गर्ने र त्यसरी बोल्दा असर कस्तो पर्छ भन्नेबारे ख्याल नगर्ने गोकुलका विशेषता हुन् । मन्त्री नियुक्त गर्नुअघि पनि उच्च तहमा गोकुलको बोली विषयको चर्चा भएको थियो ।

उनी जुन पृष्ठभूमिमा जन्मिए, हुर्किए त्यसैअनुरूपको अभिव्यक्ति शैली बन्यो, उच्च तहको राजनीतिक जिम्मेवारी सम्हाल्नुअघिसम्म गोकुलका बोली–व्यवहारप्रति राष्ट्रले चासो राखिरहनुपर्ने कारण र अवस्था थिएन । मन्त्रिमण्डलमा समावेश गरिएपछि उनको हैसियत र जिम्मेवारीको दायरा विस्तारित सरकारको प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाप्रति आममानिसको चासो रहनु अस्वाभाविक होइन ।

तर, मन्त्री भइसकेपछि पनि गोकुलले आफ्नो मौलिक प्रस्तुतीकरणमा परिवर्तन ल्याइरहनुपर्ने आवश्यकता बोध गरेनन् या बोध भएर पनि सुधार प्रक्रियाको गति सुस्त भयो, मात्र बोलेका कारण उनी पटकपटक सार्वजनिक छलफलको विषय बनिरहेका छन् । मन्त्री बन्नुअघिको भन्दा अहिलेका गोकुलको प्रस्तुतिमा यथेष्ट सुधार भइसकेको हो, तर उनले आफैँमा गरेको सुधारलाई कहिलेकाहीँ प्रकट हुने पुरानो शैलीले ओझेल पारिदिने गरेको छ ।

महत्वपूर्ण मन्त्रालयको कार्यकारी प्रमुखका हैसियतमा गोकुलबाट भएका कैयन सकारात्मक कार्यको चर्चा यस अवधिमा भइरहेको छैन । उनको एउटै निर्णयबाट नेपाल टेलिकमको डेढ अर्ब रुपैयाँ जोगिएको विषयले महत्व पाउँदैन र, दूरसञ्चार क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार नियन्त्रणका निम्ति उनीबाट भएका कामको पनि चर्चा हुँदैन । कहिले नेताको प्रतिरक्षा गर्दा त कहिले कुनै विषय–सन्दर्भमा दिएका अभिव्यक्तिका कारण उनी विवाद र चर्चाको विषय बन्ने गरेका छन् ।

गोकुल बाँस्कोटाको प्रस्तुतिबाट तात्कालिक नेकपा एमालेका कैयन नेताहरू नभड्किएका होइनन् । ठाडो प्रस्तुतिको सामना गर्न नखोजेर पार्टीका कैयन नेताहरू उनीसँग आमुन्ने–सामुन्ने हुन या बादविवाद गर्न पनि चाहँदैनन् । स्वयम् केपी शर्मा ओली पनि गोकुलको शब्दवाणबाट कैयनपटक घायल भइसकेका हुन् ।

केपी ओली जो पचास वर्षअघि कुनै सन्दर्भमा कसले कस्तो वचन प्रयोग गरेको थियो भन्ने सम्झन्छन् र वचनकै कारण त्यस्ता मानिसप्रति बैरीको व्यवहार गर्न आज पनि हिचकिचाउँदैनन् । यस्ता केपीले गोकुल बाँस्कोटाका कठोर र तिक्त वचनको पर्वाह किन गरिरहेका छैनन् भन्ने प्रश्न आफैँमा अर्थपूर्ण छ ।

भनिन्छ, अहिले मन्त्रिमण्डलमा सामेल कुनै पनि व्यक्ति केपीसँग बहस गर्ने साहस जुटाउन सक्दैनन्, तर गोकुलले आफ्नै मौलिक टर्रो शैलीमा वास्तविकता राखिदिने गर्छन् ।

जसरी सार्वजनिक रूपमा प्रस्तुत हुने गर्दछन्, त्योभन्दा धेरै कठोर किसिमबाट गोकुल केपीसमक्ष प्रस्तुत हुने गर्दछन् भन्ने निकटस्थहरूको भनाइ छ । नगद आर्जन गर्ने या अर्को कुनै स्वार्थबाट प्रेरित भएर या छलकपट गर्ने उद्देश्यबाट गोकुलका ‘गाली’ प्रक्षेपित हुँदैनन् भन्ने केपीले धेरै राम्रोसँग बुझेका छन् ।

जतिसुकै टर्रो भए पनि हर्रोको औषधीय गुणबारे जानकार भएकैले हुन सक्छ, गोकुलका गाली पनि प्रिय ठानेर ग्रहण गर्छन् केपी ओली । गोकुल छलकपट गर्न जान्दैनन् र छलमा विश्वास गर्ने मानिसमा पर्दैनन् । विषयको प्रतिवाद ठाउँका ठाउँ गर्ने, जे गर्नुछ त्यही भन्ने र भनेपछि त्यसैमा अड्डी लिएर बस्ने उनको स्वभाव हो ।

व्यक्तिगत रूपमा सरल छन्, तर प्रस्तुतीकरणले उनलाई दम्भीझैँ देखाउँछ । जे भए पनि वाणीको महत्व कति रहन्छ भन्ने दृष्टान्त गोकुल बनेका छन्, मन र कर्म स्वच्छ भए पनि वचनका कारण उनका सुन्दर पक्ष छोपिएका छन् ।

कसैका निम्ति पनि सत्ता चिरस्थायी हुँदैन र, गोकुल पनि सधैँ मन्त्री रहने छैनन् । मन्त्रीको जिम्मेवारीमा रहँदा उनले गरेका कामको भन्दा बोलीकै चर्चा यतिबेला भइरहेका छन् भने पदमुक्तिपछि पनि उनको योगदानको स्मरण हुने अपेक्षा गर्न सकिँदैन । तर, केपीजस्ता ‘इगोइस्ट’ले पनि कसैको गाली सहनयोग्य ठान्छन् भने त्यो गोकुलको हो र, गोकुलको भित्री सुन्दरता बुझेकोले मात्र केपीले गाली सहेका हुन् भन्ने तथ्यलाई आत्मसात् गर्दा गल्ती हुने देखिँदैन ।

जानकारी अनुसार गोकुल बाँस्कोटा प्रधानमन्त्री केपी ओलीका इच्छा र आसय साम्रोसँग बुझ्छन् । ओलीलाई छल्ने र धक्का पुऱ्याउने काममा गोकुल रुचि लिँदैनन् । इमानदारीपूर्वक आफूलाई सहयोग पु-याइरहेको र अनुचित कार्यमा लाग्ने नगरेकोले केपी ओलीले गोकुलका गालीलाई पनि प्रिय मानेर ग्रहण गर्ने गरेको बुझिएको घटना र विचारमा समाचार छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार ११:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।