लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा मारिएका नेपाली सन्तोष श्रेष्ठको शव नेपाल पठाउन केही दिन लाग्ने लिबिया मामिला समेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुजन बिडारीले जानकारी दिएका छन् । सन्तोषको नेपालको ठेगाना लमजुङ जिल्लाको चिती—८ तीनपिप्ले हो ।
कार्यवाहक राजदूत बिडारीले बाह्रखरीलाई दिएको जानकारीअनुसार उनी इटाली जाने भनेर सन् २०१९को जनवरी १६ का दिन लिबिया पुगेका थिए । राजदूत बिडारीले भने, ‘‘हामीले केही समय अघिमात्रै उनको ट्राभल डकुमेन्ट पनि पठाएका थियौं । अहिले यस्तो दुखद् कुरा सुन्नुपर्यो ।’’
उनका अनुसार श्रेष्ठको शव स्थानीय अस्पतालमा रहेकोले आवश्यक प्रक्रिया पुर्याएर नेपाल फर्काउन केही दिन लाग्नेछ । सुरक्षालगायत विविध कारणले गर्दा अहिले इजिप्टस्थित दूतावासका प्रतिनिधि लिबिया जान नसक्ने अवस्था भएपनि आईओएमको स्थानीय कार्यालयसँग सम्पर्कमा रहेर नेपालीको रेखदेख गर्ने काम भइरहेको समेत उनले जनाए । उनका अनुसार नेपाली शान्ति सेनाको मिसन समेत लिबियामा रहेकोले अहिले नेपाली टोलीका प्रमुख समीर राणाले त्यहाँ नेपालीलाई परेको समस्याको बारेमा प्रत्यक्ष रुपमा हेरिरहेका छन् ।
कार्यवाहक राजदूत बिडारीका अनुसार गएको मंगलबारको सो घटनापछि ८ जना नेपालीलाई बुधबार साँझ ५ बजे टर्की हुँदै नेपाल पठाइएको छ । लिबियामा नियमित उडान समेत नहुने भएकोले पनि अप्ठेरो परेको उनले बताए । टर्कीबाट कनेक्टिङ्ग फ्लाइटमा आउन लागेका नेपाली टर्कीस एयरवेजको उडानबाट काठमाडौं आइपुग्नेछन् । बाँकी ६ जनालाई केही दिनमा फ्लाइट मिलाएर पठाइने समेत उनले जानकारी गराए ।
दूतावासबाट प्राप्त जानकारी अनुसार टर्की हुँदै नेपाल आउन लागेका नेपालीहरुमा पूर्ण प्रकाश अधिकारी, राजकुमार गुरुङ्ग, दिनेश बस्नेत, नेत्र भट्टराई, सञ्जय अधिकारी, सुनिल डगोरा, दिलीप बीके र सरोज बीके रहेका छन् ।
यसैगरी केही दिनपछि स्वदेश फर्किनका लागि उडान कुरेर बसेका ६ जना नेपालीमा शिव बीके, अर्पण अधिकारी, चित्र ओली, ललित साउद, राजकुमार बस्नेत र रमेशकुमार मिश्र रहेका छन् । उनीहरुको नेपालको ठेगाना र थप विवरण भने खुलिसकेको छैन ।
सो घटनामा मारिने आप्रवासीको संख्या ४४ पुगेको छ । आक्रमण विद्रोही समूहले गरेको हो । संयुक्त राष्ट्र संघले आप्रवासीलाई हिरासत केन्द्रमा भएको आक्रमणलाई युद्ध अपराध मानिने चेतावनी दिएको छ । सो घटनामा करिब १३० मानिस घाइते भएका छन् । सो घटना विद्रोही जनरल खालिफा हफ्टरको समूहले गराएको लिबियाको सरकारले आरोप लगाएको छ ।
मारिएका अन्य आप्रवासी भने धेरैजसो सबसहारा क्षेत्रका रहेका छन् । सो घटनाको संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्का प्रमुख मिचेल बाचेलेटले पनि आलोचना गरेकी छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले सो घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
आठजना नेपालीलाई टर्की हुँदै स्वेदश
आठजना नेपालीलाई भने टर्की हुँदै नेपाल पठाइएको दूतावासले जनाएको छ । सो घटनामा मारिने आप्रवासीको संख्या ४४ पुगेको छ । आक्रमण विद्रोही समूहले गरेको हो । लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपाली पनि संलग्न रहेका छन् ।
संयुक्त राष्ट्र संघले आप्रवासीलाई हिरासत केन्द्रमा भएको आक्रमणलाई युद्ध अपराध मानिने चेतावनी दिएको छ ।सो घटनामा करिब एक सय ३० मानिस घाइते भएका छन् । सो घटना विद्रोही जनरल खालिफा हफ्टरको समूहले गराएको लिबियाको सरकारले आरोप लगाएको छ । मारिएका अन्य आप्रवासी भने धेरैजसो सबसहारा क्षेत्रका रहेका छन् । सो घटनाको संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्का प्रमुख मिचेल बाचेलेटले पनि आलोचना गरेकी छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले सो घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने जनाएका छन् । यसै विषयमा छलफल गर्न बुधबार अबेर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक डाकिएको थियो । सो आक्रमणलाई निन्दा गर्ने बारेमा सहमतिमा पुग्न बैठक नसकेको बताइएको छ । कुनै वक्तव्य जारी नगरी बैठक सकिएको थियो ।
लिबियाका नेता मोउमार गद्धाफीको मृत्युपछि सन् २०११ पछि लिबिया द्वन्द्वमा रहेको छ । घटनास्थलमा सबैतिर रगतैरगत भएको बीबीसीले जनाएको छ ।
















प्रतिक्रिया