Logo

पत्रपत्रिका

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी



सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ ।

नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्वएमाले र माओवादीेका प्राध्यापकलाई नियुक्ति गर्ने आन्तरिक तयारी गर्नुभएको छ ।

अबको २० दिनपछि अर्थात भदौ ५ गतेदेखि त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति रिक्त हुँदै छ ।विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणबाट फर्किएपछि कुलपति छनोट हुने तयारी भइरहेको छ । अध्यक्ष दाहाल हिजो मंगलबार संयुक्त अबर इमिरेट्स प्रस्थान गर्नुभएको छ ।

प्रम ओली प्रचण्ड फर्किएलगत्तै आगामी साता उपचार गर्न सिंगापुर जाने कार्यक्रम रहेको छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड विदेश भ्रमणबाट फर्केलगत्तै नयाँ उपकुलपति छनोट गर्ने प्रक्रिया शुरु हुनेछ ।दुवै अध्यक्षले आफ्ना पार्टी निकट प्राध्यापक संगठनको सल्लाहअनुसार उपकुलपति नियुक्ति गर्ने तयारी गरेका छन् । पार्टी एकीकरण भएपछि दुवै पार्टीका प्राध्यापक संगठन छुट्टाछुट्टै क्रियाशील छन् ।

पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफू निकट प्राध्यापकको नाम संकलन गर्न थालेका छन् । दुवै संगठनले छनोट गरेको नाम गोप्य राखिएको छ ।स्रोतका नेपाल राष्ट्रिय प्राध्यापक संगठनले कुलपतिको हैसियतमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयमा आफू निकट प्राध्यापकलाई नियुक्ति गरे पनि त्रिवि सेवा आयोगमा पूर्वमाओवादी निकट प्राध्यापकलाई दिनुपर्ने तर्क अघि सारेका छन् ।

पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संघका अध्यक्ष यादवप्रसाद लामिछानेले प्राध्यापक संगठनबीच एकीकरण भइनसकेका कारण पूर्वएमाले र माओवादीको तर्फबाट उपकुलपति नियुक्त हुन सक्ने दाबी गर्नुभयो ।नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव पूर्ण लामिछानेले दुईवटै पार्टी निकट संगठनको भागबण्डामा उपकुलपति छनोट गर्नुपर्ने तर्क राख्नुभयो ।

गोरखा ब्रुअरीलाई लाभ, तीन न्यायाधीशको विलाप

गोरखा ब्रुअरी कम्पनीले राज्यलाई तिर्नुपर्ने करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको पाइएपछि उच्च अदालत पोखराका तीन न्यायाधीश छानविनमा तानिनुभएको विषयले निकै चर्चा पाइरहेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

उच्च अदालत पोखराले हेरेको उक्त कम्पनीको करसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेको निष्कर्ष निकाल्दै न्याय परिषद्ले छानविन अगाडि बढाएपछि यो विषयमाथि न्यायालयको क्षेत्रमा झन् तीव्र छलफल हुन थालेको छ ।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार परिषद् बैठकले यसैविषयमा गाम्भीर्यता देखाउँदै न्यायाधीशत्रय जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवलाई परिषद्मा काजमा झिकाई छानविन गर्ने गरी सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानविन समिति नै गठन गरेको छ ।

चितवनको आन्तरिक राजस्व कार्यालयद्वारा गरिएको निर्णयविरुद्धको रिट–निवेदनमा सुनुवाइ गरेको भनी सर्वोच्चले ती तीन न्यायाधीशलाई परिषद्मा झिकाउन निर्देशन दिएको हो । यसअघि उक्त कम्पनीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको भन्दै सर्वोच्चले तिनै न्यायाधीशमाथि छानबिन र कारबाही सिफारिस गरेको थियो ।

समाचारअनुसार आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत सूर्यप्रसाद रिजालले उक्त आदेशविरुद्ध दायर गर्नुभएको सर्वोच्चमा रिटमा उच्च अदालत पोखरासमेतलाई विपक्षी बनाई अन्तरिम आदेश खारेजीको माग गरिएको थियो  । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेशका साथ तीन न्यायाधीशमाथि छानबिन र कारबाहीका लागि न्यायपरिषद्लाई आदेश दिएको थियो ।

जेठ १९ मा दर्ता भएको रिट निवेदनमाथि त्यसको भोलिपल्ट जेठ २० गते सुनुवाई गर्दै उच्च अदालत पोखराका न्यायाधीश रामचन्द्र यादवले कम्पनीको कर निर्धारण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिक राजश्व कार्यालय, भरतपुरलाई आदेश दिनुभएको थियो । यस्तै असार ११ गते न्यायाधीश जीवनहरि अधिकारी र नरबहादुर शाहीको संयुक्त इजलासले दुवै पक्षलाई बोलाएर उक्त कम्पनीको कर निर्धारण नगर्न दिएको आदेश लिएर कम्पनी कर कार्यालय पुगेको थियो ।

विप्लव*को पार्टीले कहाँ -कहाँ बन्द आह्वान गर्यो ?

नेत्र विक्रम चन्द विप्ल*व नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा आज बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ ।

उपत्यका सहित साविकका अञ्चल अन्तर्गतका १५ जिल्लामा बन्दको आव्हवान गरिएको नेकपाले जनाएको छ । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने, झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेडको नाममा हत्या गर्न थालेपछि बन्द आह्वान गरेको नेकपाले जनाएको छ ।

लालबाबुले भने – आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् ।उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट गरे ।

मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेको जानकारी दिए ।

मन्त्री पण्डितले भने, “केही कर्मचारीले अझै पनि अटेर गरेका छन्, त्यस्ता कर्मचारीलाई सरकारले बर्खास्तसम्म गर्न सक्छ । ” सरकारले बाढी र पहिरोलाई ध्यानमा राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीलाई जहाँजहाँ कार्यरत छन्, त्यही कार्यालयमा रहेर केही महिना सेवा प्रवाह गर्न निर्देशन दिएको मन्त्री पण्डितले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

काठमाडौं महानगर प्रमुख बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो ।

आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन् ।

भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्रा्ष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी रहेका छन् ।

कानुनतः जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र भ्रमणमा जानुपर्नेहुन्छ । तर, नगरप्रमुख शाक्यसहितको नगरपालिकाको जम्बो टोलीले सो कानुनी व्यवस्थाको खिल्ली उडाएका छन् ।

महानगरपालिकाले भने अनुमति लिएर नै भ्रमणमा गएको दाबी गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोल नगरप्रमुखसहितको टोलीे ल्हासा सहरको निमन्त्रणालाई स्वीकार्दै त्यसतर्फ गएको बताए । आजको राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ ।

कांग्रेस बैठक स् सभापति देउवामाथि झनझन् दबाद बढ्दै

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको मिति र पार्टीका रिक्त संरचना गठनसम्बन्धी विवादले सभापति शेरबहादुर देउवामाथि झनझन् दबाद बढ्दै गएको छ ।२२ असारबाट सुरु भएको बैठकमा आफ्नै समूहका केही नेताले समेत संरचनाको गठनका विषयमा विधि र विधानअनुसार नै अघि बढ्न सुझाएपछि इतर पक्षसहित आफ्नै समूहका केही नेताबाट समेत देउवा दोहोरो दबाबमा परेका हुन् ।

बैठकमा पहिले १४औं महाधिवेशन मिति तोक्ने वा रिक्त संरचना पूर्ति गरेर महाधिवेशन आधार बनाउने वा सहमतिबाटै सबै संरचना बनाएर महाधिवेशनमा जाने भन्ने विषयमा संस्थापन र इतरसमूह नेताबीच अझै कुरा मिल्न सकेको छैन ।

गत २२ असारबाट सुरु बैठकमा पहिलो र दोस्रो दिनबाहेक हरेकमा यिनै दुई विषयमाथि छलफल जारी छ । पहिलो दिनको बैठकमा पार्टी नियमावली मस्यौदा पेश र दोस्रो बैठकबाट नियमावली केही विषयमा सहमतिबाट परिमार्जन शर्तमा सर्वसम्मत पारित गरिएको थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठक महाधिवेशन र पार्टी संरचना गठनका दुई विषयमा अल्झिएको बताए । ‘बैठकमा मूलभूत रूपमा यीनै दुई विषय उठान भएका छन्, विधि र विधानभित्रैबाट संरचना बनाइनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले राजधानीस“ग भने, ‘सहमतिका विषय पनि आएका छन्, छलफल हुँदैछ ।’ यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार ०२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।