Logo

टिप्पणी

‘प्रचण्ड सत्ता बार्गेनिङका लागि दुवई गएका हुन्’



संसदमा सत्ता र प्रतिपक्षबीच रस्साकसी र पार्टीभित्र विभागीय जिम्मेवारी तोक्ने विषयमाथि घम्साघम्सी चलिरहेकै बेला सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दुवई भ्रमणको उद्देश्य ‘पत्नी सीताको ईच्छा पूरा गर्न’ भनेर दिएका अभिव्यक्तिलाई कसैले पनि पत्याएनन् ।

उनी उडेकै दिन मंगलबार दुवई पुगेका छन् । त्यहाँ पुगेर उनी के गर्दैछन् भन्ने समाचारहरु निरन्तर आइरहेका पनि छन् । तर राजनीतिक विश्लेषकहरुले भने अध्यक्ष प्रचण्डको यसपटकको दुवई भ्रमणलाई राजनीतिक मिसन अन्तर्गत भएको विश्लेषण गरेका छन् । उनीहरु यतिसम्मन भन्छन् कि प्रचण्ड विदेशी शक्तिका ‘एजेन्ट’सँग भेट गर्नाकै लागि उनी त्यहाँ गएका हुन् । त्यसमा पनि भारतीय जासुस संस्था ‘रअ’को योजनामा त्यसका प्रतिनिधिसँग भेटन प्रचण्ड त्यहाँ दुवई पुगेका उनीहरुको विश्लेषण छ ।

राजनीतिक विश्लेषक भरत दाहालको विश्लेषणलाई आधार मान्ने हो भने अध्यक्ष प्रचण्ड ‘रअ’कै योजना उसका प्रतिनिधिसँग भेट गर्न दुवई गएका हुन् । रअका प्रमुख सामन्त गोयलले गत शनिबार नेपाल आएर प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत महत्वपूर्ण राजनीतिक पात्रहरुसँग भेटेर फर्किएको समाचारलाई विश्लेषक दाहाल सत्य मान्छन् । रअ प्रतिनिधि आउनेजाने सधैंका गतिविधि ठान्ने दाहालको अहिलोको चासो ‘निम्तोमा एक हप्ताको लागि नेपाल आएका प्रमुख गोयल किन दुई दिनमै फर्किए ?’ भन्नेमा बढी छ । उनका अनुसार गायलले नेपाल आएर प्रचण्ड र प्रम ओलीसँग अलगअलग कुरा गरेर फर्केका छन् । गोयल फर्किएको हप्ता दिन नहुँदै प्रचण्ड मंगलबार दुवई उडेका छन् । काठमाडौंमा गोयलसँग भेट भएको समाचारको खण्डन अध्यक्षद्वय प्रचण्ड र ओली दुवैले अहिलेसम्म गरेका छैनन् । यस्तैबीच विदेश भ्रमणमा निस्केका हुन् । ओली र प्रचण्डले परिवारसँग घुम्ने वा पार्टीका मोर्चा वा परदेशमा रहेका आफ्ना कार्यकर्तासँग भेटघाट गर्ने कुरा अहिले अवस्थामा गौण विषय रहेको उनको बुझाई छ । एउटै पार्टीका दुई अध्यक्षको यसपटकको भ्रमण सत्ता बार्गेनिङबाहेक अर्को हुनै नसक्ने उनको ठम्याई छ ।

अमेरिकी जासुस संस्था सीआईएको डिजाइनसँग सहमत रहेर काम गर्दै आइरहेको रअको पछिल्लो समय भारतीय जनता पार्टी (भीजेपी)सँग अन्तरविरोधमा केही साम्य आएका कारण पनि रअले नेपालको राजनीतिमा बढी चलखेल गर्ने र सरकार फेरबदलीको खेल खेल्न सक्ने उनी बताउँछन् । भारतीय शासक वर्गले अहिले पनि भारतको पश्चिमतर्फको उठ्दै गएको सुख्खा ६५ लाखभन्दा बढी जमिन सिंचाई गर्न नेपालको पानी लैजाने दाउ पूरा गर्न र नेपालको सुरक्षा मामिलालाई उसको छत्रछाँयामा राख्न चाहिरहेको यथावत रहेको दाहाल बताउँछन् । त्यही दाउ पूरा गर्न भारतले घोषित रुपमा ‘बुहत नदी जडान योजना’ अगाडि ल्याएको उनी बताउँछन् । देशको सुरक्षा मामला कब्जा गर्न सपोर्ट पुग्ने योजनामै अहिले ‘ईन्डो प्याशिपिक रणनीति’ अन्तर्गत तालिम दिने वा संयुक्त अभ्यासको बहानामा नेपालमा एक हजारभन्दा बढी संख्यामा विभिन्न भेषमा नेपालमा अमेरिकी सेना बसिरहेको उनले दाबी गरे ।

देशमा १६-१७ वर्षमै विदेशीले भराउने गरी ‘राष्ट्रघाती’ नागरिकता विधयेक संसद पेश हुनुलाई विदेशी शक्तिकै योजना मान्छन् उनी । त्यसनिम्ति नेपालमा उसको स्वार्थ पूरा गर्न सक्ने सरकार बनाउनपट्टि रअ लागिरहेको विश्लेषण छ उनको । महाकालीको पानी लगेपछि दुई पक्षीय सहमति कार्यान्वयबारे भारत पक्ष चुप बस्नुलाई नेपालको नदीमाथि कब्जा जमाउने उद्देश्य भारतले पूरा गरेको र नेपाललाई धोका भएको बताउँछन् ।

आउँदो शनिबार प्रचण्ड स्वदेश फर्कने र त्यही दिन प्रम ओली सिंगापुर जाने विषयमाथि पनि उनको सटिक विश्लेषण छ । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनाउने सर्तहरु राखेर नाडी छाम्ने र त्यसपछि सिंगापुर गएर ‘यो सर्त पूरा गर्ने भए गर नत्र…’ भनेर ओलीलाई तर्साउने रअको योजना रहेको विश्लेषण दाहालले अनलाइनपाना डटमलाई सुनाए । उनको बुझाईमा प्रचण्ड र ओलीको विदेश भ्रमणपछि सरकारको नेतृत्व परिवर्तनबारे हुने गरिएको अहिलेको चर्चा कि शून्यमा झर्छ या शिखरमा पुग्छ ।

कोशीमा २६९ मिटर अग्लो बाँध बाँध्न दिने नेपालको सहमतिले ‘बुहत् नदी जडान योजनालाई’सफल बनाउने उनको विश्लेषण छ । अप्पर कर्णाली, अरुण ३ जस्ता ठूला आयोजनामा सरकार चुकेको र साउथ ब्लकले नेपालमा अनुकूलतामा आधारित सरकारबाट स्वार्थ पूरा गर्न आतुर रहेको र त्यसनिम्ति सत्ताका निर्णायक राजनीतिक दल नेतृत्वमाथि दबाब चलाएको उनले बताए । सत्तारुढ पार्टीका दुई अध्यक्षको अहिलेको विदेश भ्रमण दबाबकै सिलसिलेवार भएको उनको ठहर छ । प्रधानमन्त्री ओलीलाई नीजि चिकित्सक दिव्या सिंह टोलीले समेत उपचारका लागि विदेश जान आवश्यक नठानेको अवस्थामा हुन गइरहेको प्रम ओलीको भ्रमणप्रति धेरैले गहिरो चासो राख्नु पनि अन्यथा होइन । प्रचण्ड भ्रमणको सवालमा पनि यही स्थिति हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।