राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार चारदिने चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु भएको छ ।
जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला सुरु भएको हो ।
आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावा छिलेका अनुसार मेलामा चीनका ५० भन्दा बढी प्रदर्शकले स्टल राखेका छन् । मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्ध पदार्थ, मदिरा, वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयरसम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकल लगायतको स्टल राखिएको छ ।
नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरु पनि मेलामा सहभागी भएको अध्यक्ष छिलेले जानकारी दिए । यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच छलफल, समझदारीपत्रमा हस्ताक्षर लगायत कार्यक्रम रहेको छ ।
दुई चेम्बरबीच सन् २०१४ मा भएकोा समझदारी अनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुईपक्षीय व्यापार बढाउन चिनियाँ व्यवसायी नेपाल आएको बताइन्छ ।
















प्रतिक्रिया