बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ र शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक ज्ञानबहादुर खड्का पुस ३ गते ६ नम्बर वडाको सिद्धार्थ जनता माध्यमिक विद्यालय पुगे । बिहान साढे ११ बजे विद्यालयमा पुगेका उनीहरूले ७ वटा कक्षाका विद्यार्थी बाहिरै घुमिरहेको भेट्टाए ।
१ देखि १२ कक्षासम्मको पठनपाठन हुने विद्यालयमा ५ वटा कक्षामा मात्रै शिक्षकले अध्यापन गराइरहेका थिए । ७ वटा कक्षाका विद्यार्थी बाहिरै थिए भने शिक्षक घाम तापेर बसेको भेटिए । कति शिक्षक विद्यालयमा उपस्थिति थिएनन् भने कक्षाकोठा खाली थिए । विद्यार्थी विद्यालयको प्रांगण तथा नजिकको बजारमा भेटिएको अनुगमन टोलीले जनाएको छ । ‘दोस्रो घण्टी पठनपाठन हुने समयमै हामी विद्यालयमा पुगेका थियौं,’ गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका केसीले भने ।
धेरै कक्षामा विद्यार्थीका कापीकिताब मात्रै भेटिएको अध्यक्ष केसीले बताए । पढाउनका लागि शिक्षक कक्षामा प्रवेश गरेपछि विद्यार्थी पछि कक्षामा आउने चलन पनि विद्यालयमा रहेको पाइएको उनको भनाइ छ । विद्यालयको अनुगमनको क्रममा २ जना शिक्षक विना कुनै जानकारी विद्यालयमा अनुपस्थित रहेको उनले जानकारी दिए । शिक्षक मानबहादुर पुन र तेजेन्द्र देवकोटा विद्यालयलाई कुनै सूचना नगरी विद्यालय गएका थिएनन् । यी दुवै शिक्षकको नियमानुसारको बिदा यसअघि नै सकिसकेको छ ।
गत मंसिर १८ गते ४ नम्बर वडाको बाल कल्याण मावि सिम्तारुको पनि गाउँपालिकाको टोलीले अनुगमन गरेको थियो । यहाँको अवस्था झन दयनीय भेटियो । विद्यालयमा १६ जना शिक्षक कार्यरत छन् । उक्त दिन ७ जना मात्रै शिक्षक विद्यालय आएको भेटिए । विद्यालय आएकामध्ये १ जना मात्रै शिक्षक कक्षामा थिए । ६ शिक्षक बार्दलीमा घाम ताप्दै बसेको भेटिए ।
विद्यार्थी चौरमा नाच्दै गरेको भेटिएको अध्यक्ष केसीले जानकारी दिए । अनुगमनको लागि गाउँपालिकाको टोली बिहान ११ बजे विद्यालयमा पुगेको थियो । पहिलो घण्टी सकिएर दोस्रो घण्टी सुरु भइसक्ने बेलासम्म पनि शिक्षकले पहिलो घण्टी नै पढाउन थालेका थिएन् । शिक्षक कक्षामा नगएको भन्दै विद्यार्थी प्रांगणमै खेलिरहेको अवस्थामा भेटिएका हुन् ।
सिद्धार्थ जनता मावि र बाल कल्याण माविबीचको दूरी धेरै छैन । गाउँपालिका र बाल कल्याण माविको दूरी झन् धेरै नजिकको छ । १–१२ पठनपाठन हुने सिद्धार्थ जनता र १–१० पठनपाठन हुने बालकल्याणको अवस्थाले सामुदायिक विद्यालयको अवस्था झल्काउँछ ।
गाउँपालिकाभर ९ मावि र ३५ आधारभूत गरी ४४ सामुदायिक विद्यालय छन् । पछिल्लो समय गाउँ शिक्षा समितिको निर्णयअनुसार शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा विद्यालयको अनुगमन तीव्र पारिएको छ । अहिलेसम्म ३० बढी विद्यालयको अनुगमन भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा संयोजक लगायत शिक्षा समितिका सदस्यहरूले विद्यालयको अनुगमन गरिरहेका छन् । केही विद्यालय बाहेक अधिकांश विद्यालयको हाल उस्तै उस्तै भेटिएको निष्कर्ष अनुगमन टोलीको छ । अनुगमन टोलीले हरेक विद्यालयमा अनुगमनपछि लिखित तथा मौखिक सुझाव दिने गरेको छ ।
सिद्धार्थ जनता माविका प्रधानाध्यापक नदीराम केसीले नियतवश नभई कहिलेकाहीँ उस्तै पर्ने गरेको दाबी गरे । उनले एउटा पिरियड पढाइ सकेपछि अर्काे पिरियड सुरु हुनुभन्दा पहिला ५ मिनेट खाली समय राखिएको बताए ।
त्यही समयमा विद्यालयमा पुग्दा शिक्षक तथा विद्यार्थीलाई खाली रहेको भेटाउन सकिने उनको भनाइ छ । उनले अनुगमन टोलीले दिएको सुझाव कार्यान्वनको प्रतिबद्धता गरे । संयोजक खड्काले अनुगमन गरिएका विद्यालयमध्ये औसत विद्यालयमा मात्रै राम्रो पठनपाठन हुने गरेको पाइएको जानकारी दिए । आजको कान्तिपुर दैनिकमा छ ।




















प्रतिक्रिया