Logo

कर्णाली प्रदेश

कर्णालीका ८६ प्रहरी चौकी भाडामा



कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरू भवनविहीन छन् । आफ्नै भवन नहुँदा सहज रूपमा सुरक्षा प्रदान गर्न पनि समस्या हुने गरेको प्रहरीको भनाइ छ । चर्काे रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामा ८६ वटा प्रहरी चौकीहरु भाडामा तथा स्थानीयले उपलब्ध गराएको घरमा बस्दै आएका छन् । यहाँ रहेका जम्मा एक सय ८९ कार्यालय मध्ये ८६ वटा भाडामा सञ्चालन हुँदै आएको प्रदेश प्रहरी प्रमुख, प्रहरी नाव महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी जाजरकोटमा १३ वटा चौकी भाडा तथा स्थानीय उपलब्ध गराएको घरबाट सञ्चालन हुने गरेका छन् । यस्तै रुकुम पश्चिममा १२ वटा, दैलेखमा १०, हुम्ला र कालीकाटेमा ९/९ वटा, सुर्खेत र सल्यानमा ८/८ वटा प्रहरी चौकी भाडामा सञ्चालन हुँदै आएको डिआइजी जोशीले बताए । यस्तै डोल्पा र मुगुमा ६/६ वटा तथा जुम्लामा ४ वटा प्रहरी कार्यालय आफ्नो भवन नहुँदा भाडा तिरेर अर्काको घरमा बस्दै आएका छन् ।

आफ्नै भवन नहुँदा वार्षिक झण्डै ७४ लाखभन्दा बढी रकम घरभाडामा खर्च हुने गरेको बताइएको छ । कार्यालय सञ्चालनका लागि आफ्नो भवन नहुँदा कर्णाली प्रदेशका विभिन्न प्रहरी कार्यालयले वार्षिक ७३ लाख ८० हजार आठ सय ५२ रुपैयाँ घर भाडामा खर्च गर्ने गरेको डिआइजी जोशीले बताए ।

आफ्नो वार्षिक भाडाको रकमले नपुग्दा स्थानीय तह तथा अन्यले केही प्रहरी चौकीको भाडा तिरिदिने गरेको उनको भनाइ छ । जनतासँग प्रत्यक्षरूपमा जोडिएको प्रहरी नै भवन अभावमा बस्नुपर्दा कार्यसम्पादनमा असर पर्ने गरेको उनको भनाइ छ । सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा थप असर पर्ने गरेको विभिन्न ठाउँमा कार्यरत प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।