हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँमा एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ । सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए ।
उनले मृतकका श्रीमान् घरमा नभएको बताए । मृतक बुढाका एक छोरी, दुई छोरा गरी तीन नाबालक छन् । रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले जानकारी दिए ।
रावल आफैँ एक हप्तादेखि गाउँमा फैलिएको मौसमी रुघाखोकीले बिरामी भएर स्वास्थ्यचौकीमा जान सकेका छैनन् । राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेको उनले बताए । उनका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ ।
हिउँदको महिना सुरु भएसँगै जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको संख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम साता परेको भारी हिमपातले बिरामीको संख्या अझ बढ्दै गएको छ । जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रासस




















प्रतिक्रिया