संघीयता कार्यान्वयन गर्दै स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष भयो । स्थानीय तहको निर्वाचन हुँदा सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्ने धेरैको अपेक्षा थियो । संघीय संरचना अनुसार तीन तहका अधिकार पनि बाडफाँट गरियो ।
विभिन्न समस्याले पीडा झेल्दै आएका कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका नागरिकमा पनि गाउँबाट सेवा पाउने अपेक्षा थियो । स्थानीय तहको निर्वाचनको समयमा ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा लिएर नेताहरु गाउँ गाउँमा पुगे । नागरिकको मतबाट गाउँ तथा नगरपालिका प्रमुखमा निर्वाचित समेत भए । निर्वाचन भएको तीन वर्ष पुग्नै लाग्दा पनि डोल्पाका आधा स्थानीयले आफ्नो स्थानीय सरकार देख्नसम्म पाएका छैनन् ।
आफूले मतदान गरेको जनप्रतिनिधि र सिंहदरबार देख्न अझैसम्म पनि सरमुकाम पुग्नुको विकल्प छैन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्नै लागिसक्यो तर यहाँका चार वटा स्थानीय तह अहिले पनि सम्बन्धित गाउँपालिमा छैनन् ।
दैनिक कामकाजका लागि गाउँले सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । जिल्लाका ८ मध्ये ४ वटा स्थानीय तहका कार्यालयको काम सदरमुकाम दुनैबाटै हुने गरेको छ । जिल्लामा एउटा नगरपालिका र सात गाउँपालिका रहेका छन् । त्यसमध्ये डोल्पोबुद्ध, शेफोक्सुन्डो, काइके र छार्काताङसोङ गाउँपालिकाले दुनैमा कार्यालय खोलेर काम गर्दै आएका छन् ।
केही जनप्रतिनिधि र कर्मचारी जिल्लामै छन् भने कोही जिल्ला बाहिर हुने गरेको बताइएको छ । छार्काताङसोङबाहेक अरूले गाउँपालिकाको केन्द्रसमेत तोकिसकेका छन् । छार्काताङसोङ गाउँपालिकाको कार्याल्य ढाँड गाउँमा हुनुपर्ने हो तर यहाँ पनि केन्द्रको विवाद रहेको छ । यो बाहेक डोल्पोबुद्धको धो, शेफोक्सुन्डोको साल्दाङ, काइकेको सहरतारा गाउँमा हुनुपर्ने हो ।
सबै स्थानीय सरकारका कार्यालय सदरमुकाममै हुँदा स्थानीयवासी एक सातासम्म हिँडेर सदरमुकाम पुग्नैपर्ने बाध्यता रहेको शेफोक्सुन्डो स्थानीय रामबिक्रम झाँक्रीले बताए । सम्पर्क कार्यालयको नाममा जनप्रतिनिधि र कर्मचारीले दुर्गमका नागरिकलाई सेवा लिन सदरमुकाममै बोलाउने गरेको उनको भनाइ छ । सानो कामका लागि पनि महँगो रकम खर्च गरेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता यहाँका नागरिकलाई छ ।
चारवटै स्थानीय तहका अध्यक्षको निवासासमेत सदरकमुकाम दुनैमा रहेको छ । सम्पर्क कार्यालय सदरमुकाममा रहेको गाउँपालिका अध्यक्षहरुले स्वीकार गरेका छन् । गाउँपालिका अध्यक्षहरु निर्वाचित भएपछि केही पनि गाउँ नफर्केको स्थानीयको गुनासो छ । गाउँका विकासका लागि भन्दै सदरमुकामबाट योजना निर्माण गर्ने गरेको समेत स्थानीयहरु बताउँछन् ।
बैंक, सुरक्षा तथा सेवाग्राहीको सजिलोका लागि जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय राखिएको शेफोक्सुन्डो गाउँपालिका अध्यक्ष टसीतुन्डुप गुरुङले बताए ।




















प्रतिक्रिया