उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्।
रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले उपसभामुखबाट राजीनामा मागेपछि तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी हुन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार उपसभामुखलाई यथावत् राखेर सभामुख पदमा उम्मेदवारी दिन नमिल्ने तर्कसहित नेकपाले तुम्बाहाङफेको राजीनामा मागेको जनाएको छ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ।
‘म राजीनामा दिन्न, भोलि (आइतबार) को संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। ‘सभामुख पदमा उम्मेदवारी दिन उपसभामुखलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय भयो’, सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। यद्यपि, नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय गरेको छैन। अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया