Logo

पत्रपत्रिका

प्रदेश २ का मुख्यमन्त्री राउतले उप–मेयरलाई ‘ए..ए..चुप’ भनेपछि..



प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई ‘अपमान’ गरेका छन् । प्रदेशको जिल्ला समन्वय परिषद्को बैठकमा महोत्तरीको मनराशिषवा नगरपालिकामा उपमेयर रमिता प्रधानलाई मुख्यमन्त्रीले अपमान गरेका हुन् ।

बर्दिबासमा आयोजना गरेको बैठकमा स्थानीय तहका प्रमुख र उपप्रमुखले आ–आफ्ना समस्या राखिरहेका थिए। मुख्यमन्त्रीले उनीहरुको समस्या सुनिरहेका थिए ।

उपमेयर प्रधानले आफ्नो नगरपालिकाको समस्या राख्न पालो कुर्दै थिइन् । मेयरले बोलिरहेका थिए । धेरै समय कुर्दा पनि उनले बोल्न माइक पाइनन्। त्यसपछि उनले हलबाट भनिन,‘यता माइक दिनुस् ।’ मुख्यमन्त्रीले मञ्चबाट भने, ‘पर्खिनुस् ।’ उपप्रमुख प्रधानले माइक मागिरहिन् । त्यसै क्रममा मुख्यमन्त्रीले भने, ‘ए..ए.. चुप !’ त्यसपछि उनी कुर्सीमा बसिन् । उनले माइक पाइनन् ।

नगरपालिकाका एकजना मेयरले बोलीसकेपछि प्रधानको हातमा माइक पुग्यो । ‘तपाईं मलाई सम्मान गर्नुस् वा नगर्नुस्, म तपाईंलार्ई सम्मान गर्छु । हजुर हाम्रो मुख्यमन्त्रीज्यू हुनुहुन्छ,’ उपप्रमुख प्रधानले मुख्यमन्त्रीलाई भनिन्, ‘पुरुषलाई हामी ९ महिना कोखमा राखेर जन्मदिन्छौं । हुर्काउँछौं । तपाईहरुको जन्म र संरक्षण हामी महिलाले गर्छौँ तर तपाईंहरु हामीलाई सधैं अपमान गर्नुहुन्छ ?’उनले प्रश्न गरिन् ।

प्रदेश २ मा बढेको भ्रष्टाचारप्रति मुख्यमन्त्रीलाई झटारो हान्दै उनले भनिन्,‘कानुन थाहा छैन भनेर हामी सबैले लुटिराखेका छौं । हामी सबै लुटेरा हौँ ।’ अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।