नेपाल भ्रष्टचार बढी हुने देशमध्ये एक सय १३ औं स्थानमा परेको छ । यो गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ ।
सन् २०१८ भन्दा केही कम भ्रष्टचार भएपनि भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै रहेको उक्त प्रतिवेदनले देखाएको छ । सन् २०१८ मा नेपाल १०० मा ३१ अंकसहित १२४ औं स्थानमा थियो ।
न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, सुरक्षा निकायहरु विशेष गरेर नेपाली सेनामा सदाचारको पहललगायत कारणले नेपालले प्राप्त गरेको नम्बरमा केही सुधार देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसका साथै पछिल्ले समय सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिका पनि बढ्दै गएकाले भ्रष्टचार कम हुँदै गएको बताइएको छ । तर सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता भएपनि कार्यान्वयन नभएको, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार व्याप्त रहेको देखाइएको छ ।
राज्य सञ्चालनमा सीमित समूहको पकड रहेकाले नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ ।





















प्रतिक्रिया