सरकारले स्वेतपत्र जारी गर्दै नेपाल ट्रष्टको जग्गा लिज प्रकरणबारे जानकारी गराउँदा कााग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकोसमेत नाम मुछिएपछि उनले त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।
देउवाले बुधबार सभापति देउवाले प्रेस विज्ञप्ति जनाउँदै सरकारले भ्रम फैलाएको आरोप लगाएका छन् । सभापति देउवाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
देउवाको विज्ञप्तिः
नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी १३ फागुनमा सार्वजनिक गरिएको विवरणले सृजना गरेको केही भ्रम बारे स्पष्ट गर्न यो विज्ञप्ति जारी गरेको छु ।
१. म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।
२ प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो। अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ ।
३ यो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको छु ।
अतः कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवावलाई निरन्तरता दिन म सबैमा हार्दिक अपिल गर्दछु ।





















प्रतिक्रिया