विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीमा आफ्नो देश फर्काउन चासो नदिने देशहरूलाई यूएईले कार्वाही गर्ने घोषणा गरेको छ ।
प्रवासी कामदारहरूले आफूहरूलाई घर फर्काउन आफ्नो देशको सरकारसँग आग्रह गरिरहेका छन् । यस्तो आग्रह गर्नेमा नेपाली पनि छन् । यसरी आफ्ना देशका नागरिकले स्वदेश फर्काउन आग्रह गरिरहँदा जुन-जुन देशले आफ्ना नागरिक फर्काउन चासो दिएका छैनन् । ती देशहरू कार्वाहीको दायरमा पर्ने यूएईको भनाइ छ ।
त्यो सँगै यूएईमा रहेका लाखौं नेपाली अन्यौलमा परेका छन् । भारत बाट नेपाल फर्किन लागेका आफ्नै देशका नागरिकलाई सिमामै रोक्ने निर्णय गर्ने नेपाल सरकारले आफूहरूलाई नेपाल फिर्ता लैजाने आशा नभएको तथा यता काम गर्ने कम्पनीले अनिवार्य छुट्टीमा घर जना दबाब दिएकोले आफूहरू के गर्ने भन्ने अन्यौलमा रहेको हाल यूएईको एक चिनियाँ कम्पनीमा कार्यरत झापाका राजु क्षेत्रीले बताए । क्षेत्रीजस्तै यूएईमा रहेका लाखौं नेपाली अहिले अन्यौलमा परेका छन् ।
यूएईको मानव संशाधन र एमिरेटिसेसन मन्त्रालयले यूएईको निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने भनेको छ । मन्त्रालेले ती देशहरुसँगको आफ्नो सम्बन्ध, श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्नेछ । यसमा श्रमिकको संख्या कटौती गर्ने देखि लिएर श्रम सम्झौता नै रद्द गर्नेसम्मको पुनर्विचार हुन सक्ने खलीज टाइम्सले लेखेको छ । यद्यपि कुन हदसम्मको अवस्थामा श्रम सम्झौता नै रद्द हुने हो भन्ने खुलाइएको छैन । मन्त्रालयले यीबाहेक अन्य विभिन्न विकल्पहरुको बारेमा पनि अध्ययन गरिरहेको छ ।





















प्रतिक्रिया