Logo

प्रदेश

मेसै नचलेको ठाउँमा मजदुरलाई खाना खुवाउन पुगे राज्यमन्त्री !



आज मजदुर दिवस । मजदुर दिवसको दिन राजधानीका विभिन्न स्थानमा सार्वजनिक मेस चलाइयो ।

त्यसका लागि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सार्वजनिक मेस चलाइएको सार्वजनिक गरेपनि बास्तविकता अर्कै भएको पाइएको छ ।

स्थानीय तहको सक्रियतामा अधिकांश मेस चलाइएपनि मानन्धरले आफ्नै सक्रियतामा भन्दै प्रचार गराएको पाइएको छ । मानन्धर शुक्रबार बिहान नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १७ मा खाना खुवाउने अभियानमा सहभागी भएका थिए । तर, सहभागी भएपछि उनले मिडियामा सम्बन्धित स्थानीय तहको कामको कुनै तारिफै नगरी आफ्नै पहलमा नभइ स्थानीय तहमा खाना भन्दै प्रचार गरेका हुन् ।

रोचक त के रह्यो भने मानन्धरले निशुल्क मेस सञ्चालन गर्न समन्वय गरेर नयाँ बजारस्थित सासा बैंक्वेटमा बिहान र बेलुका खानाको ब्यबस्थापन गरेको समाचार सार्वजनिक गरेपनि सो स्थानमा मेस नै सञ्चालन नभएको पाइएको छ ।

यसबारे नेविसंघका नेता सुशील भट्टले आफूहरु मेसबारे बुझ्न सासा बैंक्वेटमा पुग्दा सुनसान रहेको पाइएको बताए । उनले राज्यमन्त्रीजस्तो व्यक्तिले भ्रमको खेति गरेको भन्दै आपत्ति समेत जनाए ।

अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ र १६ का विभिन्न स्थानमा स्थानीय तह र सहयोगी मनहरुको सक्रियतामा खाना खुवाइएको वडा नम्बर १६ का एक जनप्रतिनिधिले बताए । उनले राज्यमन्त्रीको उल्लेख्य योगदान नरहेपनि अनावश्यक प्रचार भएकाले आफ्नो ध्यानाकर्षण भएको बताए ।

यसैबीच आफ्नो निर्वाचन क्षेत्रका लागि कुनै काम नगरेको भन्दै जनस्तरबाटै आलोचित मानन्धरले राज्यमन्त्री भएपछि अनेकौं प्रचारका स्टन्ट अपनाउँदै आएका छन् ।
स्मरण रहोस् उनको घर नजिकै पर्ने बाइपास–नेपालटार सडकखण्ड दयनीय अवस्थामा रहेको २ वर्षबढी बितिसकेपनि अझै निर्माण सम्पन्न भएको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार २१:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।