स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोककी महिलाको कोरोनाका कारण मृत्यु भए नभएको विषयमा थप अनुसन्धान सुरु गरेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले महिलाको मृत्युको कारणको विषयमा अनुसन्धान सुरु भएको बताए। उनले कारण निश्चित भएपछि मन्त्रालयले आधिकारीक रुपमा सूचना सार्वजनिक गर्ने प्रष्ट पारे ।
वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर २४ गते नर्मल डेलिभरी भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको बिहीबार मृत्यु भएको थियो । नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनलाई ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछिसमेत विभिन्न शारीरिक समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरण लिइराखेका छौँ । कोभिड-१९ सँग सम्बन्धित थप विवरण लिइराखेका छौँ’, प्रवक्ता देवकोटाले भने, ‘यो परीक्षणको सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारीक रुपमा कोभिड-१९ सँग सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निक्यौल गरेर प्रशारण गर्ने सबैलाई जानकारी गराउँछु ।’
मृतक महिलाको धुलिखेल अस्पतालको ल्याबमा भएको पीसीआर र आरडीटी परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । यस विषयमा अनुसन्धानका लागि मन्त्रालयले अस्पताल सिल गरेर अनुसन्धान सुरु गरेको हो ।
















प्रतिक्रिया