पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘छिमेकीसँग पाखुरा सुर्केर अनावश्यक निहुँ खोज्न नहुने’ अभिव्यक्ति दिएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईको आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले डा. भट्टराईको अभिव्यक्तिलाई भट्टराईको भारतभक्ती भन्दै आलोचना गरेका छन् ।
नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितका अतिक्रमित नेपाली भू-भाग समेटेर नयाँ नक्सा जारी जारी गरेसँगै भारतसँग विवाद सिर्जना भैरहेको बेला यस्तो अभिव्यक्ति दिएपछि उनको कडा आलोचना भएको हो ।
नेपाल उद्योग परिसंघले बिहीबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले ‘छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित नगरे आपूर्ति प्रणाली नै ध्वस्त हुने’ टिप्पणी गरेका थिए । छिमेकी देशसँग सम्बन्ध सुमधुर बनाउन सके भारत र चीनबाट ठूलो परिमाण लगानी आउने उनको भनाइ थियो ।
‘१० वर्ष अगाडि नै मैले भारतसँग विप्पा सम्झौता गरेको थिए, यस्तो सम्झौता चीनलगायत अरु देशसँग पनि गर्नुपर्छ, छिमेकीसँग अनावश्यक पाखुरा सुर्केर निहुँ खोज्नु हुँदैन, सम्बन्ध सुमधुर बनाउने हो भने भारत र चीनबाट ठूलो परिमाणमा लगानी आउँछ, यस्तो लगानीलाई नेपालका ठूला उद्योगी व्यवसायीसँग समन्वय गरेर ठूला उद्योग प्रतिष्ठान स्थापना गर्न सकिन्छ ।’ डा. भट्टराईले भने ।
उनको यस्तो अभिव्यक्ति सँगै सामाजिक सञ्जालमा अहिले डा. भट्टराईको तीब्र आलोचना भएको छ ।




















प्रतिक्रिया