Logo

प्रदेश

कमलामाई नगरपालिकाको बदमासी: एउटै प्रकृतिको समस्यामा नगर स्टाफलाई क्षतिपूर्ति, स्थानीयलाई विभेद



सिन्धुलीको कमलामाई नगरपालिकाले एउटै प्रकृतिको समस्यामा नगरपालिकामा काम गर्ने स्टाफलाई क्षतिपूर्ति दिंदा अर्का स्थानीय भने ११ महिनादेखि एउटै समस्या लिएर वडा कार्यलय देखि नगरपालिकासम्म दौडीरहेका छन् ।

गत आर्थिक वर्षको बजेटबाट कमलामाई नगरपालिका वडा नम्बर ६ पानीट्यांकी हुँदै माझिटार निस्कने सडक सफाइका क्रममा नगरपालिकाको लापरबाहीले स्थानीय बिबश थापाको घर कम्पाउण्डमा पुगेको क्षतिको क्षतिपूर्ति माग्दा माग्दा हैरान भैसकेको गुनासो गरिरहँदा सोही बाटोको सोही प्रकृतिको केशमा नगरपालिकामै कार्यरत लक्ष्मण बस्नेतलाई बजेट रकामान्तर गरेर १० लाख क्षतिपूर्ति उपलब्ध गराइएको सार्वजनिक भएको छ ।

एउटै प्रकृतिको र एकै दिनको घटनामा फरकफरक व्यवहार हुँदा आफू अचम्मित भएको पीडित थापाले अनलाइनपानासँगको कुराकानीको क्रममा उल्लेख गरे । यस बिषयमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीलाई जिज्ञासा राख्दा ‘अघिल्लो आर्थिक वर्षमा सडक स्तरोन्नति गर्दा समस्या भएको भए ६/७ महिनासम्म पीडित थापाले किन समस्या लिएर नआएको’ भन्दै आक्रोश समेत व्यक्त गरे ।

स्थानीय समस्यालाई समाधान गर्नुको सट्टामा मिडियाबाजी गरेको भन्दै आक्रोशित हुँदै मेयर खत्रीले वडाले एक डेढ लाख रुपैयाँ उपलब्ध गराउन पटकपटक ताकेता गर्दा समेत पीडित थापा रकम लिन नगएको सुनेको जनाउँदै पहरामा लगेर थापाले घर बनाएको दाबी गरे । यो सँगै भूकम्पले समेत क्षतिग्रस्त बनाएको घरलाई सडक स्तरोन्नतिको क्रममा केही क्षति भने हुनसक्ने स्वीकार गरे ।

अहिले कोरोना महामारीका कारण नयाँ योजना स्वकृत गर्न नसकिने जनाउँदै मेयर थापाले यो आर्थिक वर्षमा केही गर्न नसक्ने बताए । वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापाले वडामा बजेट नभएको कारणले पटकपटक प्रयास गर्दा समेत काम गर्न नसकिएको जानकारी दिंदै प्रारम्भिक स्टमेट अनुसार सडकको किनारामा माथिसम्म पर्खाल निर्माण गर्न १५ देखि २० लाख सम्म खर्च लाग्ने अनुमान गरिएको र त्यति बजेट वडासँग नरहेकाले केही गर्न नसकिएको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १०:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।