संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा भोलि (बिहिवार) अपरान्ह ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने भएका छन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने हुन्छ ।
सभामुख अग्नि सापकोटाले बिहीबार दिउँसो ४ बजेलाई समय निर्धारण गरिएको जानकारी गराएका हुन् । अर्थमन्त्री खतिवडाले आफ्नो तेस्रो बजेट बिहीबार पेस गर्न थालेका हुन् । उनले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको प्रस्तुत गरेका थिए भने चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको ल्याएका थिए ।
खतिवडाले लिएका दुवै बजेट स्रोत व्यवस्थापन र खर्चको हिसाबले कमजोर देखिएका छन् । पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याउँदा वास्तविक खर्च ११ खर्ब १० अर्ब रुपैयाँ मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यस्तै, दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ सार्वजनिक गरेकोमा अधिकतम् १२ खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
लामो समयदेखि तोकिएको भन्दा बढी राजस्व उठ्ने गरेकोमा खतिवडाले सार्वजनिक गरेका दुवै बजेटमा तोकिएको राजस्व पनि उठ्न सकेको छैन । पहिलो बजेटमा ९ खर्ब ४५ अर्बको राजस्व अनुमान गरिएकोमा ८ खर्ब ५९ अर्ब रुपैयाँको मात्रै राजस्व उठेको थियो । दोस्रो बजेटमा ११ खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएकोमा कोभिड-१९ को कारण साढे ७ खर्बभन्दा बढी नउठ्ने देखिएको छ । अर्थमन्त्री खतिवडाले आफ्नो तेस्रो बजेट १६ खर्बमाथिको ल्याउँदै छन् । जसको लागि करिब साढे १० खर्ब रुपैयाँ राजस्वको अनुमान गरिएको जनाइएको छ ।





















प्रतिक्रिया