पर्साको ठोरी गाउँपालिकामा रहेको ठुटे खोला सञ्चालन गर्नको लागि कुलो पुरी बनाइएको सडक भत्काउन आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीलाई स्थानीयले फर्काएका छन् ।
ठोरी गाउँपालिकाको वडा नम्बर २ र ३ को बीचमा पर्ने ठुटेखोला पुलको पूर्वपट्टी रहेको कुलो पुरी पुल सञ्चालनमा आएपछि सडक भत्काउन बिहीबार साँझ आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीलाई स्थानीयले विरोध गर्दै फर्काएका हुन् । ठुटे खोलामा बनाइएको पुल सञ्चालनको लागि कुलो पुरि बनाइएको सडकमा मान्छे लगाएर भत्काउन सुरु गरेपछि स्थानीयबासीहरु विरोधमा उत्रिएका थिए । पुल सञ्चालनको लागि नेपालकै भूमिमा रहेको कुलो पुरेर बनाईएको सडक किन भत्काएको भन्दै भारतीय सुरक्षाकर्मीसहितको टोलीसँग स्थानीयबासीहरुको केही बेर भनाभन समेत भएको थियो ।
भारतीय सु्रक्षाकर्मीसहितको टोलीसँग वडा नम्बर २ का वडाध्यक्ष किशोर तामाङसहित स्थानीयबासीहरुले विरोध गरेपछि भारतीय सुरक्षाकर्मी, अधिकारी र मजदुरहरुसहितको टोली भारत फर्किएको ठोरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष किशोर तमाङले जानकारी दिए । २५/३० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीले मजदुरहरु लगाएर सडक भत्काउन थालेपछि आफूहरुले प्रतिवाद गर्दै यस्तो गर्न पाइँदैन भनेपछि भनाभन पश्चात उनीहरु भारत फर्केको तामाङले बताए ।
भारतीय सुरक्षाकर्मीको टोलीले सडक भत्काउन थालेको थाहा पाएपछि ठोरीका स्थानीयबासीहरु सयौँको सँख्यामा ठुटे खोलाको पुल नजिकै जम्मा भएका थिए । एक दिन अघि मात्र संचालनमा आएको पुलसँग जोडिएको सडक भारतीय पक्षले भत्काएको ठोरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्य लामाले जानकारी दिए ।
स्थानीयबासीहरुले सडक भत्काए झन ठूलो दुर्घटना निम्तिने बताएपछि भारतीय पक्ष पछि हटदै भारत फर्कन बाध्य भएको थियो । २ वर्ष अघि नै निर्माण सम्पन्न भएको ठुटे खोलाको पुल सञ्चालनमा भारतीय पक्षले बारम्बार अवरोध सिर्जना गर्दै आएकाले हालसम्म पनि सञ्चालनमा आउन सकेको थिएन । गएको बुधबार मात्रै गाउँपालिकाका जनप्रतिनिधिहरुको पहलमा पुल सञ्चालनमा ल्याइएको थियो ।





















प्रतिक्रिया