प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादवकी बुहारी रानी यादवलाई भगाएको आरोपमा सुर्खेत स्थायी घर भएका याम ब. बिक पक्राउ परेका छन् ।
विगत पाँच वर्षभन्दा लामो समयदेखि रानी यादवका ससुरा तथा लोकसेवा आयोगका पूर्व सदस्य श्रीकृष्ण यादवले यौनहिंसा गरिरहेको भन्दै न्यायको गुहार गरेपनि राजनीतिक शक्तिको आडमा दबाइएको आरोप लगाउँदै आएकी रानीलाई विकले भगाएको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
सुर्खेत घर भएर सिरहाको लहानस्थित होटल दरबारमा म्यानेजर पदमा कार्यरत विकले रानीलाई भगाएपछि भागेर भारत पुगेका थिए । भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका विकलाई भारतीय प्रहरीले इलाका प्रहरी कार्यलय कृष्णनगर (कपिलवस्तु) मा बुझाएपछि सिरहा प्रहरीले अनुसन्धानको लागि भन्दै सिरहा लगेको विकको पारिवारिक स्रोतले जानकारी दियो ।
‘कपिलवस्तु प्रहरीमा बुझाउँदासम्म छोरासँग कुरा भै राखेको तर सिरहा प्रहरीले नियन्त्रणमा लिएपछि भने हामीसँग कुरा गर्न दिएको छैन् । बाटैमा इकाउण्टर गर्छन् भन्ने डर लागेको छ ।’ छोराको भनाइ उदृत गर्दै याम बहादुरका बुबा भूपाल विकले अनलाइनपानालाई जानकारी दिए ।
छोरा मजदुरीको लागि सिरहामा गएको तर पूर्वमन्त्रीको बुहारी भगाएको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको याम ब. का बुबा भूपाल विकले जानकारी दिए ।
पूर्वमन्त्री चित्रलेखाकी बुहारी रानिले श्रीमानलाई पटकपटक ससुराबाट भएको यौनहिंसाको बारेमा जानकारी गराएपनि कुनै सुनुवाइ नभएको बुहारी रानिको आरोप थियो । रानी एक बच्चाकी आमा हुन् । रानीका ५ वर्षका एक छोरा छन् । छोराका खातिर आफूले सबै सहेको रानीले बताउँदै आएकी थिइन ।
ससुराबाट यौनहिंसामा परेको कुरा रानिले २०७६ चैत २ गते आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी थिइन । घरेलु हिंसाबाट पीडित रानी आफ्नै होटलमा काम गर्ने युवासँग भाग्न बाध्य हुनुपर्ने परिस्थिति लाजमर्दो भएको सामाजिक अभियान्ता सिद्धार्थ अधिकारीले जानकारी दिए ।
उच्च पारिवारिक घरानामा भएको घरेलुहिंसामा जीवन बिताएकी एक महिलाले आदर स्नेह पूर्वक एक दलित युवकसँग मर्यादित जीवन जिउन पाउनु पर्ने अभियान्ता अधिकाले बताए ।





















प्रतिक्रिया