Logo

अर्थ

जनताहरु रोगले भन्दा भोकले जनता मर्ने अवस्था आउन लाग्यो: सांसद संग्रौला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले जनताहरु रोगले भन्दा भोकले मर्ने अवस्था आउन लागेको भन्दै प्रभावित नागरिकको लागि दोस्रो चरणको राहत प्याकेज तत्काल घोषणा गर्न र जनतालाई राहत उपलब्ध गर्न माग गरेकी छिन् ।

विनियोजन विधेयक २०७७ माथी बिचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद संग्रौलाले विनियोजन विधेयक २०७७ अपारदर्शी, परम्परागत तथा जन उत्तरदायी भन्दा कार्यकर्ता उत्तरदायी भएको टिप्पणी गर्दै आम्दानी हेरेर मात्रै खर्च तय गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेको प्राथमिकता भनेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम हुनुपर्ने त्यसको लागि पिसीआर परिक्षण बढाउनुपर्नेमा सरकार विश्व स्वास्थ संगठनले समेत अमान्य घोषणा गरेको आरटिडी परिक्षण किट किन्न बजेट छुट्याउने विनियोजन विधेयकमाथि कुनै विचार गर्नै नसकिने धारणा व्यक्त गरिन ।

वैदेशिक रोजगारीको लागि विदेशमा रहेका करिब ४५ लाख नागरिक मध्ये समस्यामा परेका वा स्वदेश फर्किन चाहने सबै नागरिकको उद्दार गर्नुपर्ने सरकारको दायित्व भएपनि २५ हजार नागरिकको मात्रै उद्दार गर्ने तयारी थालिएको भन्दै विदेशमा आफ्नो श्रम बेचेर रेमिट्यान्स पठाएर मुलुक चलाउने नागरिक समस्यामा पर्दा समेत विनियोजन विधेयकले ती नागरिकको उद्दार, व्यवस्थापन तथा पुनः रोजगार जस्ता विषयमा कुनै ठोस प्रस्ताव अघि सार्न असफल भएको उनको भनाइ छ ।

विदेशबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने तथा पुनः रोजगारका लागि कुनै व्यवस्थापन गर्न नसको भन्दै रोजगारीको लागि सबैभन्दा ठूलो क्षेत्र रहेको कृषिलाई भने उपेक्षा गरिएको उनको टिप्पणी छ । आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक फल, बीउ र आवश्यक अनुदानमा विनियोजन विधेयकले कुनै स्पष्ट प्रस्ताव अगाडि सार्न नसकेको टिप्पणी गर्दै विनियोजन विधेयकले नागरिकलाई छुन नसकेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।