Logo

प्रमुख समाचार

के ओली पार्टी अध्यक्ष छाड्न सहमत भएका हुन् ?



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल जारी छ । सहमति खोज्नकै लागि भन्दै चार पटक सम्म स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । अर्को बैठक आगामी शुक्रबारलाई सारिएको छ ।

स्थायी कमिटीको बैठकको सुरुवात देखि नै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली माथि प्रश्न उठाउन थालिसकेको अवस्थामा मदन भण्डारीको जन्म दिनको दिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘नयाँ नक्सा सार्वजनिक गरेको भन्दै छिमेकी भारत र आफ्नै पार्टीभित्रका नेताहरू आफूलाई हटाउन लागिपरेको’ अभिव्यक्ति दिएपछि स्थायी कमिटीका बहुमत सदस्यले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन माग गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । नेकपाभित्रको विवाद मिल्नै नसक्नेगरि गिजोलिएको टिप्पणी भैरहँदा अध्यक्षद्धय ओली र दाहालबीच भने रहस्यमयी साँठगाँठ सुरु भएको छ । उनीहरुबीचको एक्लाएक्लै भेटवार्तामा ओलीले सरकारको नेतृत्व गर्ने र दाहालले पार्टीको नेतृत्व गर्नेगरि ‘एक व्यक्ति, एक पद’मै जाने सहमति भएको स्रोतको दाबी छ । नेकपामा पछिल्लो समय ‘एक व्यक्ति, एक पद’को माग जोडदार रुपमा उठिरहेको छ । यो माग विशेष गरि बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले कडा रुपमा उठाएको छ ।

तर, ओली पक्षले एकता महाधिवेशन सम्पन्न नभएसम्म कुनैपनि हालतमा ‘एक व्यक्ति, एक पद’मा जान नसकिने अडान लिँदै आएको थियो । दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमै ओलीको राजीनामा मागिसकेका छन् । र, उनीहरु स्थायी कमिटीको बैठकमै ओलीलाई दुवै पदबाट हटाउनेगरि निर्णय गर्ने तयारीमा छन् ।

दाहाल–नेपाल समूहको रणनीति बुझेका ओलीले पछिल्ला दिन स्थायी कमिटीको बैठक नै बहिष्कार गरिदिए । उनले पार्टीमा र सभामुखसँगपनि सामान्य परामर्श नगरी संसदको बजेट अधिवेशन अन्त्य गरिदिएका छन् ।

ओलीले नेपाल समूहसँग भन्दापनि दाहालसँग मात्रै एक्ला एक्लै भेटवार्तालाई तिव्रता दिएका छन् । दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने गरि यस अघि भएको सहमति कार्यान्वयनमा जोड दिँदै आएका छन् । तर, ओलीले भने जेठमा भएको सहमति भन्दा पनि त्यसपछि मंसिरमा गरिएको सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्ने अडान लिएका छन् ।

दाहाल–नेपाल समूह ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपयुक्त मौका नै यही हो भनेर लागेको छ । नेता नेपालले प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्ने बटमलाईन लिएको छ ।

यसअघि दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान लिएको नेपाल समूह अन्तिममा दुई पदमध्ये एकबाट भएपनि हटाउनुपर्ने र विशेषगरि प्रधानमन्त्रीबाटै ओलीलाई हटाउनुपर्ने लाईनमा छ । यसको लागि नेता नेपालले प्रचण्डलाई अबको प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । दाहालले पनि पछिल्ला दिनमा छलफल यही विषयलाई केन्द्रमा राखेर अघि बढाईरहेको स्रोतको दाबी छ ।

नेकपानिकट स्रोतका अनुसार यदि ओलीले प्रधानमन्त्री कुनैपनि हालतमा नछाड्ने अडान लिईरहने दाहालले अध्यक्षमा आफूमात्रै रहने शर्तमा सहमति गर्न सक्छन् । आजपनि उनीहरुबीच छलफल हुँदैछ । आज र भोलि भित्र सहमति नभए दाहाल–समूह अब बैठकबाटै वारपार गर्ने अर्थात निर्णय गरेर अघि बढ्ने तयारीमा छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १५:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।