लामो समयदेखि जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालका लागि समाधान उन्मुख रहेको देखिएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच अघोषित एकता भैसकेको खबरले नेकपा वृत्तमा चर्चा पाएको छ ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट बहुमत सदस्यले राजिनामा मागेसँगै लगातार अवरुद्ध छ । मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले दिएको ‘भारतसँग मिलेर सरकार ढलाउन आफ्नै सहकर्मी लागेको’ अभिव्यक्तिले सुरु भएको सत्ता संकट तत्कालका लागि टरेको अनुमान गरिएको छ ।
दुई अध्यक्ष मिलेसँगै वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने अल्पमतमा परेका छन्। ‘दुई अध्यक्षकोबीचमा एकता गरेर जाने भन्नेमा दुई अध्यक्षमा समझदारी भएको’ ओली निकट एक स्थायी समिति सदस्यले अनलाइनपानालाई जानकारी दिए । प्रधानमन्त्री ओलीले सरकारको काम मात्रै गर्ने, प्रचण्डले पार्टीको काम गर्नेगरी भूमिकालाई स्थायी कमिटी बैठक बाटै थप व्याख्या गरेर जाने’ समझदारीमा दुई अध्यक्षबीच भएको र २ साउनको स्थायी कमिटी बैठकमै यो प्रस्ताव दुबै अध्यक्षबाट संयुक्त रूपमा आउने सम्भावना रहेको समेत ती नेताको दाबी छ ।
मदन जयन्तीको दिन प्रधानमन्त्री ओलीले आवेशमा दिएको अभिव्यक्तिको पार्टी स्थायी कमिटी बैठकमा आत्माआलोचना गर्ने र दुबै अध्यक्षको कार्य बिभाजन स्थायी कमिटीको बैठकबाटै स्पष्ट पारेर जाने हो भने दुई अध्यक्षबीच एकता हुने प्रचण्ड पक्षका एक स्थायी समिति सदस्यको बुझाई छ ।
नाम उल्लेख नगर्ने शर्तमा ‘बाहिर जे जस्तो देखिएपनि पार्टी र सरकारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एकलौटी गर्न थालेपछि आफूहरूले पनि ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेको’ ती नेताको ठहर छ ।
पार्टीभित्र ओलीको विपक्षमा माहोल बन्नुका साथै प्रचण्ड – नेपाल समूहमा बहुमत हुँदाहुँदै पनि प्रचण्डले ओलीको राजीनामा माग्ने निर्णय कार्यान्वयन गराउन सकेका छैनन् । ओलीले भने स्थायी कमिटी बैठकबाट बहुमतको आधारमा निर्णय गर्न चुनौती दिएपछि प्रचण्ड रक्षात्मक बन्दै ओलीसँग समझदारी गर्ने निर्णयमा पुगेको हुनसक्ने विश्लेषकहरूको अनुमान छ ।
यो सँगै भारतीय सञ्चारमाध्यमको प्रस्तुतिको शैलीले पनि अन्ततः ओलीलाई नै फाइदा पुगेको छ । यसैको प्रतिक्रिया स्वरुप कार्यकारी अध्यक्ष प्रचण्डले चितवन पुगेर आफू ओलीभन्दा राष्ट्रवादी रहेको फेहरिस्त प्रस्तुत गरे ।
ओलीको सहमति बेगर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद वा कुनै एकपदबाट मात्रै हटाउने निर्णय गरेपनि त्यो पक्ष भारतीय एसेट रहेको प्रत्येक्ष आरोप खेप्नुपर्ने तथा ओलीपक्षको प्रतिवाद सहनुपर्ने अवस्था आउने हुनाले पनि प्रचण्ड पछि हट्ने निष्कर्षमा पुगेको हुनसक्ने आकलन छ ।
अर्कोतिर पछिल्ला दिनमा नेपाली राजनीतिमा निर्णायक मानिएको चीन पनि अहिले सत्ता परिवर्तनको पक्षमा नहुँदा प्रचण्ड पछि हट्न बाध्य बनेका हुन् ।
अहिले ओलीको पक्षमा सडकमा देखिएका जुलुस भोलि आफ्ना विपक्षमा खनिन थाले भने अप्ठ्यारो हुने प्रचण्डको बुझाइ छ । त्यही कारण पनि उनले चितवन पुगेर केही गुनासो सहित पार्टी एकता दायाँबायाँ नहुने सार्वजनिक घोषणा नै गरे । यो सँगै नेकपा विवाद तत्कालका लागि साम्य भएको जस्तो देखिएको छ ।
तर, दुई अध्यक्षबीचको यो अघोषित सहमतिलाई प्रचण्ड नेपाल समूहमा रहेका नेताहरूले कस्तो प्रतिक्रिया दिन्छन् र आफ्नो समूहको रणनीति के हुन्छ भन्ने कुराले आगामी दिनमा नेकपा विवाद कस्तो हुन्छ भन्ने स्पष्ट हुनेछ ।
















प्रतिक्रिया