Logo

राजनीति

नेकपा सचिवालयको बैठक बस्नु अघि मन्त्रीपरिषद् बैठक बस्दै 



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दैछ । सोमबार पेरिसडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको थियो ।

आजको बैठक भने प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह १२ बजे बस्दैछ ।  सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । सचिवालय बैठकवाट मन्त्रिमण्डल पुनर्गठन सम्वन्धी मापदण्डलाई अन्तिम रुप दिने नेकपाको तयारी छ । प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहो¥याएर बाँकी नयाँ ल्याउने विकल्पमा नेकपाले छलफल गरिरहेको छ ।

त्यस्तै दुई वर्ष मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई राख्ने र कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर गर्ने चारवटा प्रस्तावमा सचिवालयमा छलफल सुरु भएको छ । बैठकमा संवैधानिक आयोगका पदाधिकारी चयनका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा सांगठनिक एकीकरणका काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेका सदस्यहरूको पदपूर्ति, कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटीका सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।

यसैबीच नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बालुवटारमा अब केही बेरमा शुरु हुने एक मन्त्रीले बताए । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित विषयमा छलफल हुनेछ । सोमबार बस्नुपर्ने नियमित बैठक बसेको थिएन । त्यसैले आजको बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १० : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।