शेयर बजारमा यो हप्ता धेरै उत्तरचढावहरु आएर बिहीबारसम्ममा सकारात्मक भएर नै बन्द भएको छ । हप्ताको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब ३० करोड भन्दा बढीको कारोबार हुँदा नेप्से सूचक पनि हरियो बनेको थियो । बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले शेयर बजारमा खरिदबिक्री रकम राम्रो देखिएको छ । लगानीकर्ताले सस्तो ब्याजदरमा सजिलै शेयर कर्जा पाउने वातावरण बनिरहेको छ । यसले पनि खरिदबिक्रीमा उत्साह जारी रहेको हो ।
यसबाहेक नेपाल राष्ट्र बैंकको पुँजी बजारमैत्री मौद्रिक नीति पनि अर्को सकारात्मक पाटो बनेको छ । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड तथा नेप्सेका पछिल्ला कामकारवाही पनि शेयर बजार सुधार गर्ने किसिमका छन् । लगानीकर्ताको मनोबल उकास्न नियामकले विभिन्न काम गरिरहेको छ । यसबाट पनि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको अनुमान गर्न सकिन्छ ।
शेयर बजारका लागि अधिकांश पक्षहरु सकारात्मक देखिएका छन् । यति हुँदाहुँदै पनि लक डाउनपछि बजार राम्रैसँग बढेकाले यतिबेला अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय भइरहेका छन् । उनीहरुले नाफा भएपछि बिक्री चाप बढाइदिने गर्छन् । मौद्रिक नीतिपछि बढेको बजारमा कारोबारीहरु सक्रिय भएको पनि पाइएको छ । त्यसले केही दिनयता नेप्सेमा थोरै चाप भने परेको देखिन्छ ।
शेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको सामान्य नियम पनि हो । सूचक भन्दा पनि आफूले लगानी गरेको कम्पनीतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । सम्बद्ध कम्पनीको समग्र वित्तीय अवस्था अध्ययन गर्नुपर्छ । यसैगरी, दोस्रो बजारमा कायम भाउ, मूल्य आम्दानी अनुपात लगायतका सूचकहरुलाई पनि लगानीकर्ताले ध्यान दिन आवश्यक छ । शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि उत्तिकै प्रभावकारी भूमिका निर्वाह गरिहेको हुन्छ ।
यो हप्ता नेप्सेमा उतारचढावको भए पनि कारोबार रकम राम्रो रहेको छ । बजारमा धेरै मात्रामा शेयर कित्ताहरु कारोबार भएको छन् । यस साता लगानीकर्ताहरुको सम्पत्ती लगभग ६३ अर्ब ५० करोडले बढेको छ । अर्थात, गत साताको अन्तिम कारोबार दिन १८ खर्ब ३५ अर्ब ४२ लाख रहेको कुल बजार पूँजीकरण यस साताको अन्तिम कारोबार दिन ६३ अर्ब ५२ करोड ६२ लाख बढेर १८ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो साता पाँच दिनसम्म खुलेको शेयर बजारमा ३ दिन कारोबार घटेको थियो । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक ६ प्रतिशत बढेर त्यो दिनको लागि बन्द भएको थियो । दोस्रो दिन भने दुई चोटि सकारात्मक सर्किट लागेको बजार अन्तिम समयसम्ममा नकारात्मक भएर बन्द भएको थियो ।
यस साता नेप्से परिसूचक ४७.८४ (३.४३ प्रतिशत) अंकले बढेर १४४२.६१ विन्दुमा पुगेर बन्द भएको छ । यस साता १९७ कम्पनीहरुको १ लाख २८ हजार ३२४ पटकको कारोबारमा ७ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको एक करोड ९१ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से परिसूचक करिब ३.५० प्रतिशत बढ्दा यस साता एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा धेरै ३५.५६ प्रतिशत कमाएका छन् । गत साताको अन्तिम कारोबार दिन ५८५ रुपैयाँ रहेको यस लघुवित्तको शेयरमूल्य यस साता बढेर ७९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस साता ओरियण्टल होटलको शेयरमूल्य २९.५५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको २५.५४ प्रतिशत बढेको छ ।
यस साता नेपाल सेवा लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै घटेको छ । यसको शेयर मूल्य ८.६ प्रतिशत घटेको छ । त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७.०७ प्रतिशत र रिलायन्स फाइनान्सको शेयरमूल्य ६.७८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस साता नेपाल पुनर्बीमा कम्पनी उच्च स्थानमा रहेको छ । सो कम्पनीको यस साता ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस साता एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको ४० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
यस साता नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, नबिल बैंकको ८५ करोड ७२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ७३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कारोबारमा आएका १२ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस साता होटल उपसमूहको परिसूचक सबै भन्दा धेरै १३.०६ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक भने यस साता सबै भन्दा धेरै १.८० प्रतिशत घटेको छ ।





















प्रतिक्रिया