महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको आइतवार (भदौ ७) सम्ममा ७५ अर्ब ३ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्ष २०७७।०७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जसमध्यबाट हालसम्म उठेको राजस्व अनुमानित लक्ष्यको ७ प्रतिशत हो ।
सरकारको कर राजस्वको अनुमानित वार्षिक लक्ष्य ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ रहेकोकम समीक्षा अवधिमा सरकारले ६४ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ कर राजस्व संकलन गरेको छ । भने अन्य क्षेत्रबाट २ अर्ब ३६ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
तथ्यांक अनुसार सरकारले साउन महिनामा मात्रै ५.८१ प्रतिशत राजस्व संकलन गरेको छ । साउन ३२ गतेसम्ममा सरकारले ६६ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेकोमा जसमध्ये ५८ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालय स्रोतले जनाएको छ ।
समिक्षा अवधिमा कर राजस्व मात्रै ५६ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ संकलन भएको छ ।
विषम परिस्थितिका बीचमा कुल लक्ष्यको ७ प्रतिशत राजस्व संकलन हुनु सकारात्मक रहेको महालेखा नियन्त्रक कार्यालयका सह–महालेखा नियन्त्रक एवं प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । उनले भने, ‘कोरोनाभाइरसका कारण सिर्जना भएको विषम परिस्थितिका बीच शुरूआती महिनामा ७ प्रतिशत राजस्व संकलन हुनु निकै सकारात्मक कुरा हो ।’
कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनीकरणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि असार ७ गतेसम्म पूर्णरूपमा मुलुकमा लकडाउन गरेपछि साउन ७ गतेदेखि मुलुकमा लकडाउन अन्त्य गरिएको थियो । सोही अवधिमा उद्योगधन्दा सञ्चालनमा आउँदा सोही राजस्व उठ्न सहज भएको हो ।





















प्रतिक्रिया