Logo

अर्थ

प्रधानमन्त्रीबाट महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट



प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने बताएको छ  ।

भेटमा साथमै रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको कुलपति उप्रेतीले जानकारी दिएको  छ । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेको थियो ।

नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ । सङ्ग्रहालय चार तलाको हुने छ । जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डिपिआर बनाउने भएको छ ।

कुलपति उपे्रतीले भन्नुभयो, “भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोशिश गरिनेछ । सङ्ग्रहालयको भुइँतलामा श्रव्यदृश्य कक्ष हुनेछ जहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाएको अनुभूति गर्न सक्नेछन् । भवनको दोस्रो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् । देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, तस्वीर, उहाँले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन् ।

सङ्ग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेख्नुभएका साहित्यिक सिर्जनाका पाण्डुलिपि र विदेशी लेखकले लेखेका पुस्तक माइक्रोफिल्मिङ गरी अध्यावधिक गरिनेछ तथा चौथो तलामा देशविदेशका आगन्तुुक आएर छलफल तथा अन्तरक्रिया गर्न सक्नेछन् । कुलपति उप्रेतीले सरकारबाट आवश्यक बजेटको व्यवस्था हुनासाथ युद्धस्तरमा दुई वर्षभित्र प्रयोगमा ल्याउने गरी सङ्ग्रहालय निर्माणलाई अगाडि बढाइने  बताए । स्थानीय डिल्लीबजारमा जन्मनुभएका देवकोटा पछि मैतीदेवीमा सरेको  थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।