Logo

अर्थ

वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा कोइराला, भोली नै अध्यक्षमा चयन हुने पक्का



सरकारी स्वामित्वको वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा भोली बुधबार नै अध्यक्ष चयन हुने गरी प्राडा. उपेन्द्र कोइरालालाई नियुक्त भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई नियुक्त गरेका हुन् । शुक्रबार कोइरालालाई सञ्चालक नियुक्त गरिएकोमा सोमबार नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ।

पत्र पुगेपछि बैंकले बुधबारका लागि सञ्चालक समितिको बैठक डाकेको छ। बैठकले कोइरालालाई सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ।

अर्थ मन्त्रालयको सहसचिवबाट अवकास हुनासाथ राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बन्न सफल भएका निर्मलहरि अधिकारीलाई सरकारले भदौ १ गते राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त रेहेको थियो । अधिकारीले राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)को अध्यक्षमा नियुक्ति दिन्छु भनेर झुक्याएर सदस्यमा नियुक्ति दिइयो भन्दै गुनासो समेत गर्दै आएका थिए ।

सोही रिक्त अध्यक्ष पदपूर्तिका लागि कोइरालालाई सञ्चालकका रूपमा नियुक्त गरिएको हो।

अधिकारीको पालादेखि बैंक सञ्चालक समितिले अध्यक्ष चयन गर्न थालेको हो। त्यसअघि अर्थमन्त्रालयले सोझै बैंकको अध्यक्ष तोकेर पठाउने गर्दै आएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन आएपछि सरकारले सञ्चालक तोकेर पठाउन पाउँछ। प्रक्रिया पुर्‍याउन अध्यक्ष भने सञ्चालक समितिले चयन गर्छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी कोइराला विराटनगरको महेन्द्र मोरङ क्याम्पसका प्रमुखको समेत भुमिका निर्वाह गरिसकेका छन् । साथै कोइराला नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति पनि हुन्।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।