Logo

अर्थ

बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गर्ने कर्जा १२ प्रतिशतले बढ्यो, विकास बैंकहरूको कर्जा प्रवाहमा भने गिरावट



बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष वृद्धिदर घटेको हो । अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेकोमा अहिले भने १२ प्र्रतिशत मात्र बढेको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा सबैभन्दा बढी प्रवाह भएको हो । यो अवधिमा वाणिज्य बैंककले प्रवाह गर्ने कर्जा १६ प्रतिशतले बढेको छ । त्यस्तै वित्त कम्पनीहरूको ८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह १६.२ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा ६ विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो ।

यसरी सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । यद्यपी २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ७.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.७ प्रतिशतले, डिमान्ड तथा चालू पूँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।