Logo

प्रमुख समाचार

साहित्यकार पौडेलको अपरिचित अनुहार



साहित्यकार तथा समालोचम महेश पौड्यालले आफ्नो नयाँ कीर्ति कथासङ्ग्रह “अपरिचित अनुहार” सार्वजनिक गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित एक कार्यक्रमकाबीच पौड्यालले आफ्नो नवीनतम कथासङ्ग्रह लोकार्पण सहित सार्वजनिक गरेका हुन् ।

वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा त्रिवि केन्द्रीय अङ्ग्रेजी विभागका प्रमुख, प्रा.डा. जीवलाल सापकोटा तथा शिक्षासेवी तथा नेसनल प्याब्सनका महासचिव सुवास न्यौपानेको उपस्थिति रहेको थियो ।

पौड्यालको अपरिचित अनुहारमाथि टिप्पणी गर्दै वक्ताहरु वरिष्ठ आख्यानकार कृष्ण धरावासी, लोकप्रिय समालोचक डा. रजनी ढकाल र युवा समालोचक डा. अशोक थापाले आफ्नो विचार तथा पठनका अनुभूतिहरु सुनाएका थिए ।

सुवास न्यौपानेले लेखकका बारे परिचयात्मक मन्तव्य राखेको कार्यक्रममा प्रा.डा. जीवलाल सापकोटाले शुभकामना मन्तव्य राखेका थिए भने सभापति भुवनहरि सिग्देलले आफ्नो छोटो मन्तव्यसहित सभाको विर्सजन गरेका थिए ।

कथाकार पौड्यालले वक्ताहरुको विचार तथा पुस्तकमाथिको समीक्षालाई सम्मान गर्दै वक्ता तथा कार्यक्रममा उपस्थिति सम्पूणर्मा धन्यवाद ज्ञापन गरेका थिए ।
करिब २ सय जनाको उपस्थिति रहेको कार्यक्रमलाई कवि तथा समालोचक महेश कार्की क्षितिजले सञ्चालन गरेका थिए ।

“अपरिचित अनुहार”लाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

को हुन् महेश पौड्याल ?

महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उनका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् ।

धेरै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका पौड्यालले केही समयअघिमात्र युवा वर्ष मोति पुरस्कार पनि प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १९:४९   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।