Logo

बैंकिङ

व्यापार घाटा ८ खर्ब ६३ अर्ब नाध्यो, निर्यातमा सुधार



भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महिनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको देखिएको छ । 

फागुन मसान्तसम्म आयात र निर्यात दुवैको मात्रा बढेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँको आयात भएकोमा यस वर्षको सोहि अवधिमा २ दशमलव १४ प्रतिशतले ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

समीक्षा अवधिमा निर्यात भने उल्लेखनीय रुपमा सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

जुन गत आर्थिक वर्षको तुलनामा ७ दशमलव ८४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा ७४ अर्ब ९० कारेड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । 

चालु आर्थिक वर्षको ८ महिनामा व्यापार घाटा १ दशमलव ६३ प्रतिशतले बढेको छ । फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँ कायम भएको भन्सार विभागको तथ्याङकले देखाएको छ । 

गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ४९ अर्ब ३३ करोड ४६ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

नेपालले गत आर्थिक वर्षको तुलनामा २ दशमलव ५६ प्रतिशतले वैदेशिक व्यापार विस्तार गरेको छ । समिक्षा अवधिमा नेपालले १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ  । 

गत वर्षको सोही अवधिमा यस्तो वैदेशिक व्यापारको रकम ९ खर्ब ९९ अर्ब १५ करोड ५ लाख ८१ हजार रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार १७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।