Logo

प्रमुख समाचार

कविताः समयको फेरो



आँखामा निन्द्रा मौन थियो
एकाएक
छानोमाथि तोपगोलाहरू पड्कन थाले
चारैतिर हलचल मच्चियो
घरको मुल खाँबो भाँच्चिएजस्तो आवाज आयो
बचाऊ बचाऊको चित्कारले
वातावारण कोलाहल भयो
कोही भागौँ भागौँ भन्छन्
केटाकेटी वृद्ध चिच्याउँदै रून्छन्
मैले बुझेँ मेरो वीरता सङ्कटमा छ ।

झिकेँ
सिरानीबाट खुकुरी
कसेँ
कम्मरको पटुकीमा
सङ्घारमा राखिएको
पृथ्वीनारायण शाहको तस्विर नियालेँ
र पढेँ
मर्ने बेलामा पुर्खाले लेखेको इतिहास
जहाँ लेखेको थियो
“यो देश अब तिमीहरूको हो
बैरीलाई छेउ पर्न नदिनू ।”

देवी देउराली र वीर शहिदहरूसँग
देश बचाउँने शक्ति मागेँ
म पुर्खाको इतिहासलाई सलुट गर्दै
युद्ध मैदानतिर लागेँ
घनासाम युद्ध भयो
मेरो खुकुरीको प्रहार
दुश्मनको नजिक पनि पुगेन
न त बग्यो रगत
न चिच्यायो कुनै चित्कार
आक्रोशित हुँदै
दुश्मनको छाती बीचैमा खुकुरी बर्साएँ
तर उसको छातीमा
मुटु हैन फलाम बजेको आवाज सुनेँ

मलाई बल्ल थाहा भयो
त्यो दुश्मन त मानव होइन
मानव निर्मित रोबट पो रहेछ
त्यसैबेला थचक्क बसेँ चौबीसे राज्यमा
र सोचेँ
“मेरो खुकुरीको युद्ध
अब धेरै पुरानो भएछ ।”

“यो किल्ला हाम्रो हो”
बाहिरबाट आवाज आयो
निन्द्राबाट झल्याँस्स ब्युँझिएँ
बैरीले जितेको सपना पो देखेछु

यसैबेला सम्झिएँ
पृथ्वीनारायण शाहलाई
र भनेँ मनमनै
“महाराज ! यो देश बचाउने सूत्र
कहाँनेर छ ? ”

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १०:३७   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।