Logo

खेलकुद

अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो



खेलमा पछि परेको अवस्थामा पूनरागमन प्रयास गरेपनि अन्तिम समयमा सम्हालिन नसक्दा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ ।

पिएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले गोल गर्दा एक गोल उपहार पाएको थियो । पिएसजीका लागि एमबाप्पेले दुई तथा अचरफ हाकिमीले गोल गरेपनि जित निकाल्न सकेन ।

स्टार्सवर्गमा शुक्रबार राति भएको खेलका दोस्रो मिनेटमै केभिन गेमेइरोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले लुकास पेरिनको पासमा गोल गर्न सफल भएका थिए । २३औं मिनेटमा केलियन एमबाप्पेको नेयमारको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६४औं मिनेटमा एमबाप्पेको पासमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि पिएसजीको लागि सुखद रहेन । ७५औं मिनेटमा मार्काे भेराट्टीले आत्मघाती गोल गरेपछि खेल ३–२ को स्थितिमा पुग्यो ।

पिएसजी जिततर्फ अग्रसर रहेपनि इन्ज्युरी समयमा सम्हालिन नसक्दा गोल खान पुगेपछि पिएसजी जितबाट वञ्चित बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्थोनी काचीले गोल गर्दै च्याम्पियन बनिसकेको पिएसजीलाई जितबाट वञ्चित गराए ।

यो बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाट स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । यो बराबरीले स्टार्सवर्गले अर्काे सिजन युरोपियन लिग खेल्ने सम्भावना जीवितै राखेको छ । एजेन्सी

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार ०६:५८   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।