काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।
सोमबार राति सम्पन्न भएको यो खेलमा पराजित भएसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ । जीतका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमै अलआउट भयो ।
नेपालका आरिफ शेख ८४ बलमा २ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहे । आरिफको वन डे इन्टरनेशनलमा यो चौथो अर्ध शतक हो । उनीबाहेक अन्य कुनै पनि नेपाली ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
देव खनाल ६५ बलमा २ चौकासहित ३४ रन बनाए भने ओपनर आसिफ शेखले१४ तथा कुशल भुर्तेल २७ रन बनाए । कुशलले ४६ बलमा २ चौका र १ छक्का प्रहार गरे । आसिफले २० बलमा २ चौका प्रहार गरे । रोहित पौडेल शून्यमा रन आउट भए भने दीपेन्द्रसिंह ऐरीले ४ रन बनाए । सोमपाल कामी तथा आदिल अन्सारी १०–१० रनमा आउट भए ।
नेपाललाई अन्तिम ४२ बलमा ५६ रन आवश्यक पर्दा हातमा तीन विकेट थियो । करण केसीले १९ रन बनाए भने बसिर अहमद ३ रन बनाए ।
नामिबियाका स्पिनर बेर्नार्ड शोल्टज, डेविड विजा तथा जान फ्रिलिंकले समान दुई–दुई विकेट लिए ।
त्यसअघि स्कटल्याण्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा २ सय २० रनमा अल आउट भएको थियो ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।
नेपालले दोस्रो खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ ।




















प्रतिक्रिया