जलवायु परिवर्तनका कारण मुहान मासिएपछि पानी जोहो गर्न बढी श्रम र समय खर्चनुपर्दा महिलामा पाठेघर खस्ने, गर्भावस्था तथा सुत्केरीका बेला रोग थपिने, शरीर कमजोर हुनेजस्ता समस्या
उदयपुर, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ की ६२ वर्षीया कुन्तादेवी कार्की एक गाग्री पानी लिन दिनमा चार घण्टा उकालो–ओरालो गर्छिन् । कम्मर फतक्कै गल्ने गरी पानी नबोकी भान्सा नचल्ने उनको बाध्यता घर नजिकैको मुहान सुक्न थालेपछि सुरु भएको हो । ‘पानीको मुहान सुक्दै गयो, अहिले चैतदेखि आधा असारसम्म माथिल्लो क्षेत्रका मुहान सुक्छन्,’ उनले भनिन् ।
यस्तै हालत रहिरहने हो भने कुन दिन पानी बोक्न सुनकोसी नदीमै पुग्नुपर्ला भन्ने पीरले सताउन थालेको छ उनलाई । ‘अहिले दुई घण्टा हिँडेर बलेनीपाखा पँधेराको पानी ल्याउनुपर्छ,’ कुन्ताले भनिन् । सुनकोसी पुगेर आउन झन्डै ५ घण्टा हिँड्नुपर्ने उनले बताइन् । घाँस, दाउरा र पानी ओसार्दाओसार्दै उनको शरीर थलिएको छ । ‘डाक्टरले पाठेघरमा समस्या छ, भारी नबोक्नु भन्छन् तर अय्या भनेर फुर्सद पाउने अवस्था छैन,’ उनले भनिन् ।
जलवायुविज्ञ विमलराज रेग्मी कुन्तादेवीजस्ता ग्रामीण भेगका महिलाको भोगाइसँग सहमत छन् । ‘पहिले र अहिलेको वर्षाको चक्र फेरिएको छ, कि पानी धेरै पर्छ कि त पर्दै पर्दैन, परेको खर्रर्र बगेर जान्छ,’ उनी भन्छन्, ‘पहिले पहिले विस्तारै लामो समय पर्दा जमिनले पानी सोस्थ्यो, पानीका स्रोत पुनर्भरण हुन्थ्यो, अहिले मुहान सुक्न थालेका छन् । यसको पहिलो मारमा महिला परेका छन् ।’
वन मन्त्रालयको ‘जलवायु परिवर्तनसम्बन्धी लैंगिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना २०७७–७८’ अनुसार महिला घरायसी प्रयोजन र कृषि कार्यमा चाहिने पानीको संकलनकर्ता, उपभोक्ता र व्यवस्थापकका मुख्य भूमिकामा हुन्छन् । वर्षाको चक्रमा आउने परिवर्तनले मुहानहरू मासिँदै गएपछि टाढा–टाढा पानी लिन जानुपरेको छ । पानी जोहो गर्न बढी श्रम र समय खर्चनुपर्ने कारण महिला पाठेघर खस्ने, गर्भावस्था तथा सुत्केरी हुँदा समस्या हुने, शरीर कमजोर हुने, आयआर्जन र शैक्षिक गतिविधिबाट वञ्चित हुने गरेका छन् । पानी खोज्न निस्कने प्रत्येक महिलाले औसतमा प्रत्येक दिन ३ घण्टासम्म खर्चिनुपरिरहेको जलवायु परिवर्तनले महिलालाई पारेको असर बारेको अध्ययनले देखाउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जलवायु परिवर्तनले महिला, बालबालिका, अपांगता भएका, यौनिक तथा लैंगिक अल्पसंख्यकलगायत सिमान्तकृत समुदायमा यसको प्रभाव बढी हुन्छ किनकि जीवन निर्वाहका लागि प्राकृतिक स्रोतमा उनीहरूको निर्भरता बढी छ । जलवायु परिवर्तनले ती प्राकृतिक स्रोतमा प्रत्यक्ष/अप्रत्यक्ष असर पर्छ । त्यसो हुँदा प्राकृतिक स्रोतमा निर्भर समुदाय प्रत्यक्ष मारमा पर्छन् ।
उदयपुरकै बेलका–२ तपेश्वरीकी ६३ वर्षीय दुखनीदेवी सदाको दुःख पनि थोरै छैन । वर्षौंदेखि त्रियुगा नदीमा माछा मारेर गुजारा गर्दै आएकी एकल महिला दुखनीको जीवन नामजस्तै दुःखले भरिएको छ । यसमा थप दुःख भने जलवायु परिवर्तनले सिर्जित वातावरणीय परिवर्तनले थपिदिएको छ । अहिले त्रियुगामा माछा पाइन छाड्यो । घर नजिकैका मुहान सुके । जंगलबाट घाँसदाउरा गरेर जीविका चलाउन पनि नसकिने भएको छ ।
कहाँ हराए त नदीका माछा ? दुखनीको अनुमान छ– पहिलेजस्तो नदीमा पानी नै छैन । ‘गर्मी धेरै बढेको छ, त्यसैले होला खोलामा माछा घटेको,’ उनले भनिन् । पहिले–पहिले उनी एकाध घण्टा खोलामा हेलिनेबित्तिकै थोरैमा पनि एक किलो माछा परिहाल्थ्यो । अहिले एकाध माछा समात्न पनि दिन बिताउनुपर्छ ।
३९ वर्षीया रामवती चौधरीलाई घाँसदाउरा र खेतीपातीको पिरलो छ । डेढ दशकअघिसम्म उनले गाईवस्तु, बाख्रा–पाठा पालेर मनग्गे आम्दानी गर्थिन् । घरनजिकै जंगलमा प्रशस्त घाँसदाउरा पाइन्थ्यो । गोठबाट खोलेर जंगलमा लगाइदिएपछि गाईवस्तु चरेर आफैं गोठमा आउँथे । यसो गर्दा उनलाई खेतीपाती गर्न सहज थियो । दुई छोरा र श्रीमान्सहितको रामवतीको परिवारलाई गाईवस्तु, बाख्रा, हाँसकुखुराको आम्दानीसँगै आफ्नै खेतबारीको अन्न उत्पादनले वर्षभरि खान पुग्थ्यो ।
‘अहिले खेतबारीको आम्दानीले ५ महिना पनि खान पुग्दैन,’ उनी भन्छिन्, ‘नजिकैको जंगलमा घाँसदाउरा मासिँदै गयो, घाँसदाउराका लागि चुरे पर्वत उक्लनुपर्छ । ३/४ घण्टामा बल्ल एक भारी घाँसदाउरा आउँछ ।’ त्यो पनि पहिलेको जस्तो घाँस नपाउने र जस्तो पायो उस्तै घाँस खुवाउनुपर्दा गाईभैंसीले भनेजस्तो दूध नदिने उनी बताउँछिन् ।
पशुपालन नहुँदा खेतबारीमा गोबर मल (कम्पोस्ट) हुँदैन । रामवती भन्छिन्, ‘उब्जनी नहुँदा श्रीमान् ज्याला मजदुरी गर्न भारतको पन्जाब गएका छन् ।’ रामवतीका श्रीमान् छेदीलाल ३ वर्षदेखि पन्जाबमा छन् । वर्षामा धेरै वर्षा, हिउँदमा लामो समय खडेरी पर्दा अन्नबाली उत्पादन घट्दै गएको रामवतीको अनुभव छ । उनको ३ बिघा खेती थियो, त्रियुगा नदी कटानबाट १५ कट्ठा मात्र जोगिएको छ । त्यसमा पनि मिचाहा झार, बालीमा नयाँ–नयाँ रोगकिराको प्रकोप पनि देखिन थालेको छ । बेमौसमी वर्षा, आवश्यकताअनुसार मलखाद र गुणस्तरीय बीउ नपाउँदा रामवतीको परिवारलाई खेतबारीको उत्पादनले खानै नपुग्ने भएको छ ।
यस्तो समस्या कुन्ता, दुखनी र रामवतीको मात्रै होइन । पछिल्लो डेढ दशकदेखि यहाँका धेरै महिला यस्तै समस्यासँग जुधिरहेका छन् । वन अधिकृत अम्बिका पौडेलका अनुसार पछिल्लो समय अत्यधिक वन डढेलो र खेतीपातीको समय परिवर्तनलगायत समस्या देखिएका छन् । ‘तापक्रम वृद्धिले सुक्खा खडेरी बढेसँगै डढेलो निकै बढेको छ,’ उनले भने, ‘त्यसले गर्दा वनमा पहिले पहिले पाइने घाँस मासिँदै गयो, पछिल्लो समय वन डढेलोलाई धान्न सक्ने (डढेलोमा पनि जोगिन सक्ने) घाँस–बिरुवा मात्रै जंगलमा पाइन्छ ।’ त्यसले पशुपालन र खेती प्रणालीमा समेत असर गरेको उनले बताए ।
पानीको मुहान सुक्ने, जंगल मासिने, अन्न उत्पादनमा ह्रास हुनुको असर व्यापक छ । महिलामा बढी पर्दा उनीहरूमा पाठेघर (आङ) खस्नेलगायतका समस्या देखिने गरेका छन् । पछिल्लो ५ वर्षमा चौदण्डीगढी नगरपालिकाका धेरै बस्तीमा महिलाको पाठेघरमा जटिल समस्या देखिएको स्वास्थ्य शाखाका अधिकृत तेजबहादुर पोखरेलले बताए । ‘जटिल समस्या भएका २ सय २६ लाई नै अपरेसन गरियो,’ उनले भने, ‘अहिले पनि मासिक २० जना महिला पाठेघरको समस्या लिएर नगर अस्पताल बेल्टारमा आउने गरेका छन् ।’
जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएकी काठमाडौं विश्वविद्यालयकी प्राध्यापक पासाङडोल्मा शेर्पाले बालीनाली उत्पादन घटेपछि पुरुष वैदेशिक रोजगारीमा जाँदा महिलाहरूलाई बालबच्चा, घरव्यवहार, दोहोरोतेहरो कार्यबोझ बढेको बताइन । बाढीपहिरोमा पनि महिला र बालबालिकाको ज्यान संकटमा पर्नु एउटा कारण भएको उनको तर्क छ ।
बर्दियाको राजापुरमा घर डुब्ने गरी अचानक आएको बाढी सामना गरेकी स्थानीय काली थारू आठ वर्षपछि पनि उत्तिकै डराउँछिन् । हातखुट्टा लल्याकलुलुक्क पर्छन् । जीउ काम्छ । अचानक बाढी आएपछि परिवारको ज्यान जोगाउन उनलाई निकै गाह्रो परेको थियो । बर्दिया जिल्ला दैवी प्रकोप उद्धार समितिले ०७१ कात्तिक ११ मा प्रकाशन गरेको ‘बर्दिया—बाढी प्रकोप ०७१’ को अभिलेख अनुसार सोही वर्षको भदौ २८, २९ र ३० गते कर्णाली, बबई, गेरुवा, भादा, मानखोला लगायतमा आएको बाढीबाट ९३ हजार १ सय ८९ जना पूर्ण र ७१ हजार ८ सय ११ जना आंशिक गरी १ लाख ६५ हजार जना प्रभावित भएका थिए ।

आमाको दूधमा बच्चालाई आवश्यक पर्ने पर्याप्त पानी (८७ प्रतिशत) र खनिज तत्त्व हुन्छ । पहिलो ६ महिनासम्ममा स्तनपान गरेको शिशुमा भन्दा स्तनपान नगरेको शिशुको मृत्यु हुने सम्भावना १४ गुणा बढी हुन्छ । विश्वभर गरिएको अध्ययनअनुसार ६ महिना स्तनपान गराउँदा र कम्तीमा एक वर्षसम्म थप खानाका साथै निरन्तर स्तनपान गराउँदा बालमृत्युदरलाई १३ प्रतिशतले कम गर्न सकिन्छ । तर नेपालमा स्तनपानको दर घट्दै छ । तीन वर्षमा स्तनपान दर १३ प्रतिशतले घटेको छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण–२०१६ ले जन्मेको एक घण्टाभित्र आमाको दूध खान पाउने शिशुको दर देशभरका ५५ प्रतिशत रहेको देखाएको थियो ।
‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१९’ मा यो दर घटेर ४२ प्रतिशतमा झरेको छ । २०१९ को सर्वेक्षणअनुसार जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान पाएका शिशु देशभर ६२ प्रतिशत छन् । पौष्टिक आहारमा कमीले आमाको दूध नआउने, बच्चा छोडेर काममा जानुपर्ने, व्यस्त जीवनशैलीले गर्दा स्तनपान दर घटिरहेको स्वास्थ्य सेवा विभागको अध्ययनले देखाउँछ ।
नेपाल श्रमशक्ति सर्वेक्षण ०७४/७५ का अनुसार ४७ प्रतिशत पुरुषको तुलनामा ६१ प्रतिशत महिला जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् । त्यसैले पनि महिला, बालबालिकालगायत सिमान्तकृत समुदायमा जलवायु परिवर्तनको असर बढी हुन्छ । कम उर्वर बारीमा खन्ने, गोडमेल र मलजल गर्ने तथा बीउ संकलन र भण्डारणका काम प्रायः महिलाको जिम्मेवारीमा पर्छ । कृषि उत्पादनमा आएको ह्रासले महिला तथा बालबालिकाको खाद्य असुरक्षा बढेको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को ‘विश्वका बालबालिकाको अवस्था २०१९ : बालबालिका, खाना र पोषण’ प्रतिवेदनमा भनिएको छ, ‘खडेरीका कारण कृषिमा ८० प्रतिशत क्षति पुग्छ, यसले बालबालिका र परिवारका लागि खानेकुरासँगै खानाको गुणस्तर र मूल्यमा पनि प्रभाव पार्छ ।’ उक्त प्रतिवेदनले नेपालमा गरिबी, सहरीकरण, जलवायु परिवर्तन र कमसल खानेकुराले गर्दा ४३ प्रतिशत बालबालिका कुपोषित रहेको र दुई वर्षमुनिका दुईमध्ये एक बालबालिकाले कमसल खाना खाने गरेको देखाएको छ । प्रतिवेदनका अनुसार कुपोषणको सर्वाधिक मारमा गरिब र सिमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरी छन् ।
जलवायु परिवर्तन प्राकृतिक चक्र मानिए पनि जथाभावी मानवीय गतिविधि तथा संरचना निर्माण, प्राकृतिक स्रोतमाथिको दोहनले जोखिम थपिरहेको अध्ययनहरूले देखाउँछन् । तापक्रम र वर्षाको चक्र यही गतिमा बढ्दै जाने हो भने नेपालमा आउने शताब्दीसम्म जलवायुजन्य विपद्ले महिला र सिमान्तकृत समुदायको जनजीवनमा अकल्पनीय क्षति पुग्ने सम्भावना रहेको वन तथा वातावरण मन्त्रालयद्वारा प्रकाशित ‘संकटासन्न र जोखिम मूल्यांकन तथा अनुकूलन विकल्पहरू पहिचान’ अध्ययनमा छ ।
गत माघमा बेलुका घुर बालेर ताप्दै गर्दा सप्तरीकी एक महिलाको जलेर मृत्यु भएको थियो । सुरुंगा–२ की ७५ वर्षीया कमलीदेवी पासवान सारीमा सल्केको आगोबाट कम्मरमुनि दुवै खुट्टा, घाँटी र ढाड जलेर गम्भीर घाइते भएकी थिइन् । लहानको रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । ०७७ पुस १ देखि फागुन १५ सम्मको प्राधिकरणको ‘दैनिक विपद् बुलेटिन’ लाई केलाउँदा त्यसरी आगो अथवा घुर ताप्ने क्रममा जलेर घाइते र मृत्यु भएका ४५ जना मध्ये ३९ जना महिला छन् । उनीहरू बाँके, बारा, दाङ, धनुषा, झापा, कैलाली, महोत्तरी, मोरङ, पर्सा, रौतहट, रूपन्देही, सप्तरी, सर्लाही, सिरहा र सुनसरी गरी तराईका १५ जिल्लाका हुन् ।
शीतलहर पहिलोपल्ट सन् १९९८ मा देखिएको थियो । त्यसपछि प्रायः हरेक वर्ष महिनौंसम्म घाम नलाग्ने गरेको मौसम पूर्वानुमान महाशाखाको अभिलेख छ । उत्तरी भारतमा बढेको औद्योगिकीकरणलगायतका प्रकृतिमा प्रतिकूल प्रभाव पार्ने गतिविधिबाट सिर्जित जलवाष्प र प्रदूषणले शीतलहर हुन थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बताउँछन् ।
‘संकटासन्न र जोखिम मूल्यांकन तथा अनुकूलन विकल्पहरू पहिचान’ अध्ययनमा जलवायुजन्य महामारी, भारी वर्षात्, हावाहुरी बाढी, पहिरो, आगलागी, चट्याङमा परेर सन् १९७१ देखि २०१९ सम्ममा प्रतिवर्ष ६ सय ४७ जनाले ज्यान गुमाउनुपरेको छ । अछाम, बझाङ, बाजुरा, बैतडी, डोटी, डडेल्धुरा, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, रुकुम पूर्व, रोल्पा, महोत्तरी गरी देशभरीमा १४ जिल्ला जलवायु परिवर्तनको उच्च संकटासन्न सूचीमा छन् । स्वभावैले यहाँका महिलाहरू उच्च जोखिममा रहन्छन् । ‘संकटासन्न र जोखिम मूल्यांकन तथा अनुकूलन विकल्पहरू पहिचान’ अध्ययन अनुसार जलवायु परिवर्तनको जोखिम आगामी वर्षहरूमा बढी हुनेछ जसका कारण यो शताब्दीको अन्त्यसम्म जलवायु जन्य हानिनोक्सानी कुल गार्हस्थ्य उत्पादनको १३ प्रतिशत हुनेछ र सबै जिल्ला प्रभावित हुनेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।





















प्रतिक्रिया