काठमाडौं ।नेपाल प्रिमियर लिग क्रिकेटमा काठमान्डु गोर्खाज्ले चितवन राइनोजलाई १० रनले हराएको छ । १८१ रनको लक्ष्य पाएको चितवनलाई १७० रनमा समेट्दै काठमान्डुले खातामा २ अंक थप गरेको हो । चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । जीतसँगै काठमान्डु लगातार ४ खेलमा जीत हात पार्दै तालिकाको शिर्ष स्थानमा पुगेको छ । काठमान्डुले पहिलो खेल हारे यता कुनै खेल हारेको छैन ।
रोमाञ्चक बनेको खेलमा तीन पटक जीवनदान पाएका रवि बोपारालाई काठमाडौँका कप्तान करण केसीले अन्तिम ओभरको पहिलो बलमा आउट गरेसँगै काठमाडौँ खेलमा फर्किएको थियो । बोपाराले ३५ बलमा ५५ रन बनाए । चितवनका लागि डान मौसलीले २९ र कमिल मिसाराले २८ रन बनाएपनि टोलीको जितका लागि पर्याप्त भएन ।
५ ओभरमा ४८ रन बनाउँदा बल्ल पहिलो विकेट गुमाउँदै राम्रो शुरुवात गरेपनि चितवनले त्यसलाई जितमा बदल्न भने सकेन । टोलीका सबैभन्दा भरपर्दा खेलाडी रवि बोपाराले ३ पटक जीवन दान पाए पनि उनले अर्धशतक त पूरा गरे तर त्यसले टोलीलाई फाइदा भने पुग्न सकेन । काठमान्डुका लागि सहान अराचिंगेले दुई तथा सन्तोष यादव र गणेश गौतमले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।
काठमाडौंका लागि राशिद खानले आक्रामक अर्धशतक बनाए। उनले ३० बलमा २ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५२ रन बनाएसँगै काठमाडौँले चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो । यस्तै, विल बोसिस्टोले २७ रन बनाए भने आक्रामक ब्याटिङ गर्दै साहन अरागिचेले २० बलमा ३३ रन बनाए ।
कप्तान करण केसीले मात्र ७ बलमा ३ छक्कासहित २० रन बनाए भने सन्तोष यादवले २ बलमा ८ रनको योगदान गरे ।
काठमाडौंका सुरुवाती ब्याटर नचल्दा टोली १२ रन बनाउँदा २ विकेट गुमाएको खराब अवस्थामा थियो । डेभिड वार्नरले ६ बलमा १ रन मात्र बनाए भने साहिल पटेलले १२ बलमा ८ रन मात्र बनाउन सके। जहानदाद खानले १३ बलमा ६ रन मात्र जोड्न सके । चितवनका लागि रिजन ढकालले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए भने कमलसिंह ऐरी तथा कप्तान सिकन्दर राजाले दुई दुई विकेट लिएका थिए ।
–





















प्रतिक्रिया