Logo

समाचार

डिम्ब पातलो हुने भ्रम !



लकडाउनताका रुपन्देहीमा रहँदा, औंलामा लगभग आधा तोलाको औंठी लगाएका एक जना नजिकका भलादमीले उत्सुकताका साथ भने–उनले आफ्नो २६ वर्षिय छोराको विहे गरेको र घरमा १७ बर्षकी कक्षा ११ पढ्दै गरेकी बुहारी हिजो मात्र बिहे गरेर ल्याएको बताए । उनलाई सोधेँ– विवाहका लागी कानुनी उमेर २० बर्ष पुरा गरेपछि भनेर तोएिको छ । यो त बालबिवाह भयो । हाम्रो कानुनले बालबिबाह लाई अपराधको रुपमा स्वीकार गरेको छ । कानुन र त्यसबाट हुने सजायका समेत जानकार उनले व्याङग्यात्मक शौलीमा जवाफ दिए– छोरी मान्छेले विवाह, सन्तानोत्पादन छिट्टै गर्नु पर्छ नि नानी । ढिलो गर्दा डिम्ब पातलो हुन्छ रे ! यो डिम्ब पातलो शब्दले म झसँग भएँ ।

सामान्य भाषामा डिम्ब भनेको रजस्वलाको दोश्रो चरणमा डिम्बाशयले निष्कासन गर्ने अण्डा हो । पाठेघरसँगै जोडिएर रहेका दुई अण्डाशयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छन् । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने वातावरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बन्न थाल्छ । सही समयमा यो डिम्ब पुरुषको सुक्रकिटसँग मेल हुन नपाएपछि उत्पादन भएको डिम्ब मरेर जान्छ । अर्को तर्फ पाठेघरको रगत रजस्वलाको रुपमा बाहिर निस्कन्छ । अर्थात् डिम्ब खेर जान्छ । उनी यही डिम्ब पातलोको जिकिर गर्दै थिए ।

हुनत यो डिम्ब निष्काशन महिलाको नितान्त व्यक्तिगत शारीरिक प्रक्रिया हो । तर यो व्यक्तिगत हुन पाउँदैन, किनकी योसँग परिवार जोडिएको छ, परिवारसँग समाज, समाजसँग अनेकौ परम्परा, विचार, पृतृसत्ता आदि इत्यादि । यो महिलाको डिम्ब र समाज आज जोडिएको हैन, सताब्दीयौं वर्षदेखिको अभ्यास हो । मेरो खलबलिएको दिमागले कानुनको स्नातक प्रथम बर्षमा हात परेको ६४३ बर्ष अघिको जयस्थिति मल्लले बनाएको कानुन जसलाई मानवन्याय शास्त्र भनिन्छ । त्यसका केही प्रावधान स्मरण गर्न पुग्यो । सोही कानुनको पृष्ठ १५८ को प्रावधान जहाँ भनिएको छ– सन्तानका निमित्त स्त्रीहरुको सृष्टि भएको हो । त्यस कारण स्त्रीहरु क्षेत्र हुन् । कतिपय प्रावधान बालविवाह समर्थित छन् । जस्तै पृष्ठ १६१ मा भनिएको छ– पिताले छोरी रजोवती हुनुभन्दा पहिल्यै छोरीका विवाह गरिदिनु । यहाँ रजस्वलासँग पाप र धर्म पनि जोडिएको छ । यदि छोरीको रजस्वला भयो अर्थात डिम्ब खेर गयो भने पिता भ्रृण हत्यारा सरह हुन्छन् । त्यति बेलाको समाजमा स्त्रीको डिम्ब खेर जानै दिनुहुन्न भन्ने विश्वास गरिँदो रहेछ ।

जब म सानै थिएँ, बुढापाकाहरुले भन्ने गरेको सुन्थेँ– छोरी मान्छेको विहे रजस्वला हुनुभन्दा अगाडि गरेमा पुण्य कमाइन्छ । ठूलो हुँदै जाँदा अनौठो लाग्थ्यो । रजस्वला शारिरीक प्रकृया हो । यसमा धर्म कसरी जोडियो ? समाजका अनेकाैं व्यवस्था सम्बन्धी वर्षौं देखिका मेरा सवालका जवाफ मैले यो कानुनी दस्तावेजमा फेला पारेँ । यहा ६४३ बर्ष अघिको कानुनलाई प्रस्तुत गर्नुको आशय त्यो समाज र कानुनलाई आलोचना गर्नु पक्कै हैन । त्यति बेलाको समाज चलाउनको निमित्त ल्याएको कानुसँग के को गुनासो ।
गुनासो र आक्रोश आजको शिक्षित समाजसँग हो । जो आजका दिनमा आइपुग्दा पनि पुरानै विचारधारा लतार्दै हिँडेको छ । महिलालाई डिम्बको नजरभन्दा माथि उठेर हेर्न अझै पनि रुचाउँदैन हाम्रो समाज । फरक यति मात्र हो, ६४३ बर्ष अघिको समाजले डिम्ब खेर जानै दिनु हुन्न भन्ने विचार राख्थो । आजको समाजले डिम्ब पातलो हुन्छ भन्ने विचार राख्छ । छोरीको शिक्षा, आत्मनिर्भरता, उसको आत्मनिर्णयको अधिकारलाई पछि सार्दै छिटो विवाह, छिटो सन्तान उत्पादन आदिलाई पहिलो प्राथमिकतामा राख्छ, किनकि आज पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।

महिलाको जीवनको उद्देश्य नै केवल प्रजजनन् भूमिका हो भन्ने विचार अझै पनि राख्छ हाम्रो समाज । यदि कसैले समाजले चाहे अनुसारको उमेरमा विवाह गरेन भने विना कुनै ज्ञान सजिलै महिलाको प्रजनन् क्षमतामा प्रश्न गर्छन् । अगाडी बढ्न चाहने छोरी मान्छेहरुले उसको व्यक्तिगत जीवनमा यस्ता कयौँ सस्ता विज्ञहरुको सामना गर्नु पर्छ । विवाह नामको प्रथाप्रति अनौठो बुझाइ छ हाम्रो समाजको । कोही अभिभावक विवाह २० वर्ष वारी अनि विवाह दर्ता २० वर्ष पारी भन्छन् । कानुनलाई छल्न सकेकोमा छाती फुलाउँछन्, कोही यसरी छोरीको विवाहमा लाग्छन्, मानांै छोरीको विवाह २० वर्ष पुग्ने बित्तिकै नगरेमा कानुनले कारबाही गर्छ । तोकिएको उमेर पुग्नासाथ विवाह गर्न बाध्य हुनै पर्ने स्थिति समेत छ । सायद उनीहरु छोरी टाउकोको भारी सम्झिन्छन्, जुन भारी एक दिन बिसाउनै पर्छ । त्यसैले सकेसम्म छिटो बिसाइदिउँ । कारण यही हो छिटो विवाह, छिटो सन्तानोत्पादन, त्यसमा पनि छोराको जन्म । समाजले देखेको महिलाको सफलता यति हो ।

विवाह २० बर्ष पुगेर गर्नु पर्ने कानुन, राज्यमा त्यसै आएको÷ल्याइएको होइन । आधुनिक चिकित्सा विज्ञानले २० वर्ष नपुगी यौनाङ्ग पूर्ण विकसित भएको मान्दैन । छिटो विवाह र सन्तानोत्पादन महिला स्वास्थको लागि प्रतिकूल हुन्छ । नेपालको संबिधान, २०७२ को धारा १८ ले समानताको अधिकारको सुनिश्चितता गरेकोछ । धारा १७ ले स्वतन्त्रताको हकको सुनिश्चितता गरेकोछ । महिलाको हक सम्बधी धारा ३८ को उपधारा (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुने व्यवस्था गरेको छ । बालबालिका सम्बधी हक धारा ३९ को उपधारा (५) मा कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनि व्यवस्था गरेको छ । त्यस्तै मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्ताबवेजहरुमा विवाहको ईच्छा राख्ने स्त्री पुरुषको पूर्ण र स्वतन्त्र सहमतिबाट मात्र विवाह हुने व्यवस्था गरेको छ । यी कानुनको पालना गर्नु नागरिकको पनि कर्तव्य हो । तर अनेकौं असंवैधानिक मानसिकताहरु यी कानुन मान्न तयार छैनन् ।

आजका दिनसम्म आइपुग्दा कानुनले फड्को त मारेको छ । तर भलादमीहरुको मानसिकता घिसारिन पनि कञ्जुस गर्छ । फलस्वरुप त्यसको भरपाई महिलाले जीवनभर गर्नु पर्छ । आधा अधुरो अध्ययन, कम उमेरमै भोग्ने बुहार्तन, शासन आदीले शोषण र परनिर्भरतालाई जन्म दिन्छ । महिलाले समानताको अधिकार, स्वतन्त्रताको अधिकार जस्ता देशको संविधानले दिएका अधिकार जीवनभर उपभोग गर्न पाउँदैनन् । अर्कोतर्फ हाम्रो देशमा काठमाडौं नै नेपाल हो जसो गरि हेरिन्छ । कोही आफ्ना वरिपरीका औलामा गन्न सकिने महिलाहरुलाई देखाएर केकेन भइसक्यो जसरी बोल्दछन् । केही सहरका महिलाले प्रगति गर्नु प्रयाप्त होइन । जिन्दगी प्रजनन भूमिकामा सीमित पारिएका, अधिकार र अवसबाट वञ्चित महिलाका दुःख पार पाइनसक्नु छन् । नयाँ पुस्ताले पनि त्यही जिन्दगी बाँच्नु पर्ने वातावरण बन्नु हुँदैन । अदालतले संविधानसँग बाझिएका कानुनलाई सच्याए जस्तै कानुन र आजको समयसँग बाझिएका मानसिकता र व्यवहारले पनि अब सच्चिनु पर्छ ।

(भण्डारी पेसाले खेलक हुन् । )

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १६:३३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।