काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको अटोमोटिभ कम्पनी सीजी मोटर्स प्रालि आर्थिक वर्ष २०८१/८२ मा ललितपुरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।
आन्तरिक राजस्व कार्यालय, ललितपुरमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर बुझाएको भन्दै कार्यालयले सीजी मोटर्सलाई सम्मान गरेको हो।
आन्तरिक राजस्व कार्यालय ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले चौधरी ग्रुपको सानेपास्थित मुख्यालयमा आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।
सम्मान ग्रहण गर्दै चौधरीले यसलाई कम्पनीको व्यावसायिक उत्तरदायित्व र राष्ट्रको आर्थिक विकासप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिएको बताए। उनका अनुसार कर तिर्नु राज्यप्रतिको दायित्व निर्वाह गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण माध्यम हो।
सीजी मोटर्सले नेपालमा विद्युतीय तथा अन्य सवारीसाधनको बिक्री, वितरण र बजारीकरण गर्दै आएको छ। कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
यसअघि मंसिर १ गते राष्ट्रिय कर दिवस २०८३ का अवसरमा चौधरी ग्रुपकै अर्को कम्पनी सीजी इम्पेक्स नेपालमा वस्तु व्यापार कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको थियो।
त्यस्तै, निर्वाण चौधरी अध्यक्ष रहेको नबिल बैंक पनि बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको थियो।
चौधरी ग्रुप नेपालका प्रमुख व्यावसायिक घरानामध्ये एक हो। यसले अटोमोबाइल, बैंकिङ, उत्पादन, व्यापारलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ।




















प्रतिक्रिया