Logo

अन्तर्वार्ता

पालिकामा योजना ल्याउन मन्त्रीको ढोका ढक्ढक्याउनै पर्ने बाध्यता छ : शंकरराज बराल



नयाँ संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनबाट ७५३ वटै पालिकामा जनप्रतिनिधि पुगेका छन् । पालिकामा पुग्नसाथ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका पालिकाहरुले यसमा समेटेका कार्यक्रमहरु कार्यान्वयन थालेका छन् । वर्षाको कारणले पूर्वाधार निर्माणका काम बाहेकका नीति निर्माण र कार्ययोजना तय गर्ने कामहरु अहिले अधिकांश पालिकामा भइरहेका छन् । केही पालिकाहरुले भने नीति तथा कार्यक्रमसँगै नीति तथा कार्यक्रम नै ल्याएका छैनन् ।

संघ र प्रदेश सरकारले राजनीतिक पूर्वाग्रह बोकेर पालिकामा योजना पठाउने हुनाले पालिकाहरुमा समान किसिमले विकास हुन नसकेको स्थानीय जनप्रतिनिधिहरुले गुनासो गर्ने गरेका छन् । यी नै सन्दर्भ सिन्धुलीको गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीनको सम्पादित अंश :

गोलञ्जोर गाउँपालिकामा तपाईं निर्वाचित भएर आएपछि प्रारम्भमा कस्ता योजनाहरुलाई प्राथमिकता दिनुभएको छ ?
हाम्रो गोलञ्जोर गाउँपालिकावासीको धेरै मागहरु छन् । जनताका समस्या विविध खालका भएकोले हामीले पनि विविध खालका योजनाहरु बनाएका छौं । यहाँ जनताको आवश्यक्ताका आधारमा पहिलो शिक्षा, स्वास्थ्य र दोस्रोमा सडक, सिञ्चाइँ, खानेपानी नै हुन् ।

यी क्षेत्रमा अघिल्लो कार्यकालमा खासै राम्रो काम हुन नसकेकोले हामीले प्रथामिकतमा राखेका छौं । हाम्रो पालिकामा आन्तरिक स्रोत केही छैन । प्रदेश र संघबाट आएको बजेटमा नै हामीले काम गर्ने हो । हामी हाम्रो क्षमताले भ्याएसम्म विवेक लगाएर कामहरु अगाडि बढाएका छौं ।

कृषि र पशुपालनको क्षेत्रमा खासगरी के कस्ता योजनाहरु अघि सार्नुभएको छ ?
कृषि क्षेत्रमा यस अगाडिको स्थानीय सरकारले व्यक्तिगत स्वार्थको रुपमा लगानी गरेको देखियो । हामी नयाँ टिम आएपछि समूह सहकारी मार्फत कृषि र पशुपालनमा काम गर्ने योजना बनाएका छौं । यहाँको हरेक टोलमा कृषि समूह र कृषि सहकारी समूहहरु छन् । त्यस्तो समूह मार्फत गाई पालन, बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती गर्नका लागि हामीले योजना बनाएका छौं ।

अभियान नै चलेको छ । काम सुरु भएको छ । यसको परिणाम आउन केही समय लाग्छ । कृषिको विकास मार्फत नै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हामीले योजना बनाएका छौं । पशु विमा गर्न हामीले योजना बनाएका छौं । त्यसैगरी बालीको पनि विमा गर्ने योजना छ । हामी निरन्तर रुपमा किसानसँग छलफल गरेर आवश्यक्ता अनुसारका कामहरु गर्दै जाने छौं । हामीलाई कृषिको विकासका लागि पनि सडक पक्की बनाउनु पर्ने छ । बाह्रै महिना चल्न सक्ने बाटो नहुँदा किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउन असहज हुन्छ ।

हरेक क्षेत्रको विकास गर्न पहिलो आवश्यक्ता बाटो रहेछ । बाटो सधैं सञ्चालन हुन सक्ने बनाइयो भने उत्पादनले फड्को मार्छ । यो बर्खामा यातायात चल्न नसक्दा किसानले उत्पादन गरेको तरकारी, दुध विक्री हुन सकेको छैन । त्यसो हुनाले बाटो स्तरउन्नती पहिलो आवश्यक्ता भएको छ । त्यसो हुनाले बाटोलाई स्तरउन्नती गरेर कृषि क्षेत्रबाट नै रोजगारीको अवसर सृजना गर्ने अभियानमा हामी छौं ।

गोलञ्चोर गाउँपालिकामा बाढी पहिरो जस्ता विपत्ति तथा जोखिमको अवस्था कस्तो छ ?
हाम्रो पालिकामा मध्यपहाडी पुष्पलाल लोकमार्ग भन्ने छ । वडा नम्बर ६ मा सामान्य पानी पर्दा पनि पहिरोले बाटो अवरोध भइहाल्छ । राष्ट्रिय राजमार्ग भएकोले स्थानीय तहको अधिकारमा पर्दैन । त्यसले सधैँ समस्या दिइरहेको छ । हामीले नै त्यसमा अवरोध हटाउने काम गरिरहेका छौं ।

अन्य सडकहरुमा पनि पानी परेपछि बाटोहरु अवरोध हुने सामान्य जस्तै भएको छ । तर पनि राष्ट्रिय राजमार्गले हामीलाई धेरै समस्या दिइरहेको छ । तपाईंको मिडिया मार्फत म यो कुरा सरोकारवालाहरुलाई सुसूचित गराउन चाहन्छु । यो बाटो यथाशीघ्र व्यवस्थापन गर्न ध्यानाकर्षण गराउन चाहान्छु । हाम्रो पालिकामा हालसम्म विपद्का गम्भीर घटना भने भएको छैन । अवस्था सामान्य नै छ ।

पालिकामा विकास निर्माणका कामलाई अघि बढाउने क्रममा आइपर्ने प्रमखु चुनौतीहरु चाहिँ के रहेछन् ?
यहाँको समस्या भनेको जनप्रतिनिधिहरुले दलगत स्वार्थमा काम गर्नु हो । स्थानीय तहका जनप्रतिनिधिमा दलगत स्वार्थ हुनु हुँदैन । यसरी पक्षविपक्ष हुँदा हामीलाई नीति तथा कार्यक्रम पारित गर्न पनि निकै समस्या भयो । त्यसैगरी दोस्रो चुनौती भनेको जनताको असीमित आकांक्षा र आवश्यक्ता हुनु हो । तर दूर्भाग्य हामीसँग स्रोत साधनको कमी छ । यस्तो अवस्थामा हामीले कुन बढी आवश्क्तामा पर्छ भनेर निरधारण गरेर काम गर्दैछौं ।

उसो भए गोलञ्जोरको समृद्धि र विकासका लागि पार्टीगत स्वार्थका कारण तपाईंहरु एक हुन सक्नुभएको छैन ?
हामीले सबैसँग समन्वय र सहकार्य गर्नै पर्ने हुन्छ । हाम्रो संविधानले स्थानीय तहमा दलको परिकल्पना गरेको छैन । निर्वाचित भएपछि वडा सदस्य, वडा अध्यक्ष र सबैले आ—आफ्नो अधिकार क्षेत्रभित्र रहेर पालिकाको विकास र पालिकावासीको हितका लागि काम गर्ने हो ।

तर पनि कार्यपालिका बैठक बस्दा एउटा दलले ल्याएको प्रस्ताव अर्को दलले अस्वीकार गर्ने, अर्कोले ल्याएको कुरा अर्कोले नमान्ने परिस्थिति छ । यो याथार्थ कुरा हो । यसलाई समन्वय नगरिकन हुँदैन । स्थानीय तहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रिपरिषद् परिवर्तन हुने जस्तो त हुँदैन । जस्तो भएपनि हामीले पाँच वर्ष मिलेरै काम गर्न पर्ने हुन्छ । त्यसो हुनाले हामीले सहकार्य र सहमति गरेर जानुको विकल्प छैन । यो कुरा सबै साथीहरुले बुझ्न आवश्यक छ ।

संघ र प्रदेश सरकारसँग कसरी समन्वय कसरी भइरहेको छ ?
संघ र प्रदेशको मंसिरमा निर्वाचन तय भएको छ । त्यसपछि नयाँ सरकार आउँछ । हामीले यहाँ ठूला र बहुवर्षीय योजनाहरु पालिकामा ल्याउनका लागि संघ र प्रदेशसँग समन्वय गर्नै पर्ने हुन्छ । किनभने हाम्रो पालिकामा असीमित आवश्यक्ताहरु छन् । ती आवश्यक्ताहरु पूर्तिका निम्ति संघ र प्रदेशबाट बजेट आउनु पर्छ ।

त्यसका लागि केन्द्र र प्रदेशका मन्त्रीलाई भेट्ने, माग गर्ने गर्नु पर्ने हाम्रो परिपाटी छ । स्थानीय तहको आवश्यक्ताको आधारमा माथिबाट योजना हाल्नु पर्ने हो । तर मन्त्रीको ढोका—ढोका जान पर्ने अवस्था छ । तर पनि हामीले नै जिताएर पठाएकाहरुले समान रुपमा नै कामहरु गर्नुहुन्छ भन्ने र हाम्रो मागको सम्बोधन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

स्थानीय तहमा अनियमितता भएका समचारहरु आउन छाेडेका छैनन् । गोलञ्जोरमा भ्रष्टचार हुन नदिने तपाईंसँग कस्ता योजना छन् ?
मैले जनतासँग भोट माग्दै गर्दा भ्रष्टचारलाई न्यूनीकरण गर्ने पहिलो एजेन्डामा राखेको थिएँ । आफ्नो कार्यलयमा भ्रष्टचार हुन नदिन हामी आफैले भ्रष्टचार गर्न हुँदैन । हामीमा सेवाको भावना हुन पर्छ, पैसा कमाउने होइन । सबैले इमान्दार भएर नियम प्रक्रिया भित्र रहेर काम गर्दा भ्रष्टचार हुन पाउँदैन । भ्रष्टचार गर्न हुँदैन भनेर मैले सबैलाई सचेत गराएको छु । म आफै पनि भ्रष्टचार हुन नदिन प्रतिवद्ध छु । राजनीति एक पटकलाई मात्रै होइन । राम्रो सिद्धान्त लिएर राजनीति गर्नेले पैसामा ध्यान दिँदैन । विधि र प्रक्रिया भन्दा वाहिर गएर काम गर्दा अनियमितता हुन्छ । यसमा हामी सबै सचेत हुन आवश्यक छ । त्यसो हुनाले भ्रष्टचार मेरो पालामा हुँदैन । हुन दिन्न ।

गोलञ्जोरवासीलाई थप केही भन्नु छ ?
पालिकावासीले मेरो विश्वास गरेर, मेरा एजेण्डाहरुलाई मन पराएर मलाई विजयी गउनुभएको छ । ती एजेन्डाहरुको कार्यान्वयनमा मलाई सबैको साथ सहयोगको आवश्यक्ता छ । जनप्रतिनिधि साथीहरु र सबै गाउँवासीले साथ दिनुहुन्छ भन्नेमा विश्वास्त छु । हामी सबैले पालिकाको विकास गर्ने हो । त्यसो हुनाले हामी विवाद नगरी सकारात्मक सोचर समृद्धितर्फ जान सबैलाई आग्रह गर्छु ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १७:५३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।