काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानमा नियमित गस्ती तथा निगरानीका क्रममा लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना विदेशी नागरिकसमेत रहेका छन्।
प्रहरीका अनुसार काठमाडौंको ठमेल, गौशाला र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट तीन विदेशी नागरिकसहित ६ जना पक्राउ परेका छन्। त्यस्तै, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन्।
यसैगरी मोरङको बेलबारी नगरपालिका–३ स्थित मिरमिरे टोलबाट दुई जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक जना र झापाको बिर्तामोड नगरपालिका–५ बाट एक जना पक्राउ परेका छन्।
त्यस्तै, सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट दुई जना र सिन्धुलीको दुधौली नगरपालिका–१० स्थित लभडाँडाबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट कोकिन, गाँजा र खैरो हेरोइन बरामद गरिएको छ। प्रहरीले चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन औषधिसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया